तीन वटा चिस्यान गृह निर्माण « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

तीन वटा चिस्यान गृह निर्माण


२५ श्रावण २०८०, बिहिबार


काठमाडौँ । म्याग्दीमा सुन्तला र मुस्ताङमा स्याउ भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन यस वर्ष २५ हजार किलोग्राम क्षमताको तीन वटा चिस्यान गृह निर्माण गरिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत म्याग्दीमा एक र मुस्ताङमा दुई वटा चिस्यान गृह निर्माण गरिएको हो । स्याउ र सुन्तलाको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा चिस्यान गृह निर्माण गरिएको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताए । 

“निजी फार्म, कृषक समूह र सहकारीलाई  चिस्यान गृह बनाउन कूल लागतको ८५ प्रतिशतसम्म अनुदान दिइएको छ,” उनले भने, “चिस्यान गृहमा किसानले सुन्तला र स्याउ भण्डारण गरेर बेमौसममा बढी मूल्यमा बेच्नेछन् ।” बेनी नगरपालिका-९ को बियाडमा परियोजनाको रु १० लाख अनुदानमा पाँच हजार किलोग्राम क्षमताको सुन्तला भण्डारण गर्न सकिने चिस्यान गृह निर्माण गरिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा हाइल्याड एग्रोफार्म र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको खिङ्गामा जिआर अर्गानिक एग्रो स्याउ फार्ममा १०-१० हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण गरिएको छ । मार्फाको चिस्यान गृह बनाउन रु ११ लाख तीन हजार र खिङ्गामा रु ११ लाख २८ हजार अनुदान दिएको कृषि अधिकृत बस्यालले जानकारी दिए ।

वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यान गृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नाका साथै बढी मूल्यमा बिक्री गर्न पाइने बेनी नगरपालिका-९ बियाडाका मधु गिरीले बताए । परियोजनाको सहयोगमा आर्थिक वर्ष २०७६-७७ मा पाँच टन क्षमताको एक वटा, २०७७-७८ मा ४२ टन क्षमताको तीन वटा, आर्थिक वर्ष २०७८-७९ मा ३० टन क्षमताको तीन वटा चिस्यान गृह निर्माण भएका थिए । यसअघि मुस्ताङको मार्फा, पाण्डाखोला, जोमसोम, चिम्ले, धवाङ र म्याग्दीको नारच्याङमा निर्माण भएका चिस्यान गृह प्रभावकारी बनेका छन् । 

परियोजनाले मुस्ताङमा स्याउ, च्याङग्रा, म्याग्दीमा बङ्गुर, आलु, म्याग्दी, पर्वत र बागलुङमा सुन्तलाको जोन कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष म्याग्दी, पर्वत र बागलुङमा सुन्तला जोनका लागि रु २१ लाख ४२ हजार अनुदानमा निर्माण गरिएका १८ वटा साना सिँचाइ योजनाबाट एक सय २५ रोपनीमा सिँचाइ सुविधा विस्तार भएको थियो  । 

रु आठ लाख पचास हजार अनुदानमा बेनी नगरपालिका-३ मा दुई वटा र पर्वतको जलजला गाउँपालिका-५ मा एउटा सुन्तला नर्सरी स्थापना भएको छ । मुस्ताङमा दुई दशमलव १६ हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको र म्याग्दीमा दुई हजार दुई सय सुन्तलाका बिरुवा अनुदानमा वितरण गरिएको कृषि अधिकृत बस्यालले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस