३ महिने अभियान पार्टीको अन्तिम परीक्षा हो : अग्नि सापकोटा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

३ महिने अभियान पार्टीको अन्तिम परीक्षा हो : अग्नि सापकोटा


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले आउँदो भदौ १६ गतेदेखि शुरु हुने तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताए ।

बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘प्रवक्ता-पत्रकारबीच भेटघाट’ कार्यक्रममा प्रवक्ता सापकोटाले तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताएका हुन् ।

उनले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी–विशेष रूपान्तरण अभियान’ शुरु हुने र त्यस दिन देशभरका छ हजार सात सय ४३ वटा वडामै एकसाथ उद्घाटन हुने बताए । यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको भन्दै उहाँले आफूहरू सामूहिक रूपमा उत्तीर्ण हुने विश्वास व्यक्त गरे ।

उहाँले भन्नुभयो, ‘भदौ १६ गते छ हजार सात सय ४३ वडामा एकैसाथ अभियान उद्घाटन हुन्छ । अध्यक्षले सात प्रदेशको सात वटा वडाको जिम्मा लिनुभएको छ । हामीले पनि जिम्मा लिएका छौँ । यसमा हामी वैचारिक पुनः गठन, राजनीतिक पुनः गठन, सङ्गठनात्मक पुनः गठन र सांस्कृतिक पुनः गठनका कुरा गर्छौँ । यो हाम्रो करिब करिब अन्तिम परीक्षा जस्तै छ । मलाई विश्वास छ हामी यो परीक्षामा उत्तीर्ण हुन्छौँ । यो तीन महिने अभियान सफल हुन्छ ।’

प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्‍याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिबद्ध रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस