रामेछापको उमाकुण्ड र गोकुलगंगामा फस्टाउँदै सेतो सिमी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रामेछापको उमाकुण्ड र गोकुलगंगामा फस्टाउँदै सेतो सिमी


२४ श्रावण २०८०, बुधबार


रामेछाप । रैथाने बालीको रूपमा रहेको सेतो सिमीको बजारमा उच्च माग भएपछि रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका किसानहरू यसको व्यावसायिक खेतीमा लागेका छन् ।

उच्च पहाडी क्षेत्रमा हुने सेतो सिमी गोकुलगंगा गाउँपालिकाको रस्नालु, ठोसे चुचुरे लगायतका क्षेत्रमा हुन्छ । त्यस्तै उमाकुण्डको प्रीति, गुप्तेश्वर, कुभुकास्थली, बाम्ती र गुम्देलमा यसको खेती हुँदै आएको छ । रामेछापका यी गाउँपालिकासँग जोडिएको ओखलढुङ्गाको खिजीदेम्बा तथा सोलुको लिखुपिके गाउँपालिका लगायतको क्षेत्रमा पनि यसको राम्रो उत्पादन हुने गरेको छ ।

सेतो सिमीको बजार मूल्य पनि राम्रो भएपछि किसानहरू व्यावसायिक खेतीमा लागेका उमाकुण्ड गाउँपालिका–१ गुम्देलका वडाध्यक्ष ङावा तिण्डु शेर्पा बताउँछन् । रामेछाप जिल्लामा सबैभन्दा बढी सेतो सिमी गुम्देलमा नै उत्पादन हुन्छ । त्यहाँका किसानले वार्षिक लाखौँ रुपैयाँको सेतो सिमी बिक्री गर्दछन् ।

राम्रो मूल्य पाउन लागेपछि किसानले खेती विस्तार गर्दै गएका छन् । ‘अहिले व्यापारीहरू सिमी किन्न गाउँमा नै आउँछन्, प्रतिपाथी ५ सयदेखि ६ सय रुपैयाँसम्ममा बिक्री हुन्छ, माग र मूल्य दुवै भएकोले किसानहरू उत्साहित छन्’, उनले भने ।

सो क्षेत्रको रैथाने बालीको रूपमा रहेको सेतो सिमी खेतीको अझै विकास र विस्तार गर्न सके सो क्षेत्रका नागरिकको आर्थिक अवस्था सुधार निक्कै सहयोग पुग्ने उमाकुण्ड–४ प्रीतिका जीतनारायण श्रेष्ठ बताउँछन् ।

उनले भनिन ‘परम्परागत तरिकाले गरिरहेको खेती प्रणालीलाई नयाँ ढङ्गबाट सञ्चालन गर्नको लागि राज्यको तर्फबाट कृषकलाई आर्थिक तथा प्राविधिक सहयोग आवश्यक छ’, ।

सेतो सिमी काँचोमा कोष तरकारीको रूपमा खान सकिन्छ भने फलेपछि यसको गेडा बिक्री हुन्छ । यसको गेडाको दाल बनाएर वा सोझै उसिनेर पनि खान सकिन्छ । यसको दाल काठमाडौं लगायतका शहरका ठुला होटेलमा समेत हिजो आज प्रयोगमा आउन लागे छ । जसले गर्दा सेतो सिमीकाको माग उच्च भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस