मकवानपुर पहिरो : बेपत्ता थप दुईको शव भेटियो, तीन अझै बेपत्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मकवानपुर पहिरो : बेपत्ता थप दुईको शव भेटियो, तीन अझै बेपत्ता


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ ।

मङ्गलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिराले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले राससलाई जानकारी दिए । उनका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव फेला परेको हो । यससँगै उक्त पहिरामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

सिन्धुली हरिहरपुर गाउँपालिका-१ कोकटीका १७ वर्षीय पासाङ घिसिङको भने मङ्गलबार साँझ जीवितै उद्धार गरिएको थियो । उनको करिब सात किलोमिटर तल बागमती खोलाको किनारबाट उद्धार गरिएको हो । घिसिङको खुट्टामा समस्या देखिएको र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै उक्त पहिरामा परेर तीन जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा मृतक अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीया दिव्या पहरी छन् । प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । पहिरामा परेकामध्ये अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमायाको भने मङ्गलबार नै मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस