कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । अबिरल वर्षासँगै खसेको पहिराले नवलपुरस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका-१ स्थित मोचडाँडा र वडा नं ६ मा पर्ने कौडेको भिरमा खसेको पहिराको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद पौडेलका अनुसार पहिराले करिडोर अवरुद्ध भएसँगै यस खण्डमा यातायात सञ्चालन पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । पहिरो पन्छाउन समस्या भएकाले तत्काल यो खण्ड सञ्चालन हुने सम्भावना कम रहेको उनको भनाइ छ । 

कालीगण्डकी करिडोरअन्तर्गत नै गैँडाकोट-३ तरङ्खोलामा पानीको बहाव बढ्दा यातायात सेवा सञ्चालन हुन नसकेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । कालीगण्डकी करिडोर अवरुद्ध हुँदा नवलपुरका पहाडी क्षेत्रसहित यस खण्ड भएर पाल्पा, तनहुँ, स्याङ्जाका लागि छुट्ने कुनै पनि यातायात सञ्चालन हुनसकेका छैनन् ।

दलदले-बुलिङटार सडक खण्डसमेत पहिराको कारण अवरुद्ध भएको छ । गए राति परेको अबिरल वर्षासँगै बुलिङटार-४ अर्खलामा खसेको पहिराको कारण पूर्णरूपमा सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस