विद्यार्थीलाई खुवाइयो जुकाको औषधि  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विद्यार्थीलाई खुवाइयो जुकाको औषधि 


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा रहेको ताजकोट गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जुकाको औषधि खुवाएको छ । 

गाउँपालिका स्वास्थ्य शाखा र शिक्षा शाखाको आयोजनामा एक हप्ताभर पालिकाभित्र रहेका १५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई जुकाको औषधि खुवाउने कार्य सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताए । 

चारवटा माध्यमिक विद्यालय र ११ वटा आधारभूत विद्यालयमा अध्ययनरत छ वर्षमाथिका आठ सय ८९ छात्रा र सात सय ३४ छात्र गरी एक हजार छ सय २३ जनालाई जुकाको औषधि खुवाइएको हो । दश वर्षमाथिका सात सय ५० किशोरीलाई आइरन चक्की तथा फोलिक एसिड वितरण गरिएको स्वास्थ्य संस्थाका प्रमुख ढकालले बताए । 

यो सिजनमा विद्यार्थीलाई जुकाको कारण लाग्ने रोगबाट बचाउन औषधि खुवाइएको हो । बर्खा लागेपछि फोहर पानी, काँचा फलफूललगायतको प्रयोगले विद्यार्थीलाई जुकाबाट लाग्ने रोग बढी देखिने र त्यसबाट बचाउन पालिकाभित्र रहेका प्रत्येक विद्यालयमा पुगेर औषधि खुवाइएको ढकालले बताए । 

प्रत्येक छ महिनामा जुकाको औषधि खानुपर्ने भएकाले पनि विद्यार्थीलाई स्वास्थ्य शाखाको सहयोगमा औषधि खुवाइएको हो । औषधि खुवाउने कार्यक्रममा विद्यार्थीलाई पोषणसम्बन्धी जनचेतना दिइएको थियो । यसका लागि चार जना स्वास्थ्यकर्मी परिचालन भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस