श्रीमतीको हत्या गरी श्रीमान् फरार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

श्रीमतीको हत्या गरी श्रीमान् फरार


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । इलाममा श्रीमानले श्रीमतीको हत्या गरेर फरार भएका छन् । इलामको सूर्योदय नगरपालिका-२ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार गएराति करिब ५० वर्षे पूर्णबहादुरले करिब ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उहाँका अनुसार घटना अगाडि श्रीमान् श्रीमतीबिच सामान्य झगडा भएको थियो । झगडापछि राति पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडिपट्टिको भाग (घुच्चुक) मा धारिलो हतियार बामफोकको प्रयोग गरी हत्या गरेको बताइएको छ । 

राति करिब ९ बजे सो घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । पाँचथरको फिदिम नगरपालिका-४ जोरसाल घर भएका पूर्णबहादुर श्रीमतीसहित सूर्योदय नगरपालिकामा डेरा गरी बस्दै आएका थिए । घटनापछि श्रीमान् फरार रहेको प्रहरीको भनाइ छ । के कसरी घटना भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

हत्या गरिएकी कान्छी श्रीमती भनिएपछि जेठी श्रीमती र अन्य परिवारको बारेमा समेत खोजतलास भइरहेको बताइएको छ । कानुनी प्रक्रियाअनुसार शव परीक्षणका लागि प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस