संसद अवरोध हटाउन पुन: शीर्ष तीन दलको बैठक बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसद अवरोध हटाउन पुन: शीर्ष तीन दलको बैठक बस्दै


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरू आज पुनः छलफलमा बस्ने भएका छन् ।

सोमबार सभामुखको नेतृत्वमा छुट्टाछुट्टै शीर्ष तीन दलका नेतासहित बसेको दुवै बैठक निर्णयमा पुग्न नसक्दा केहीबेरपछि ( बिहान १०) बजेलाई पुनः बैठक बोलाइएको छ ।

सुन प्रकरणमा छानबिन समिति बनाउने विषयमा एमालेको अडानलाई लिएर हिजो सिंहदरबार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षमा पुग्न सकेन । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा थप छलफलका लागि बैठक बोलाइएको छ ।

आज दिउँसो ३ बजेको लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्नु अघि प्रमुख दलबिच सहमति जुटाउने प्रयास स्वरूप उक्त बैठक डाकिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत छलफलमा सहभागी बन्नेछन् ।

हिजो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक शीर्ष दलको नेतृत्वसँग कुरा नमिल्दा सूचना मार्फत सारियो तर बस्न सकेन । राष्ट्रिय सभा भने एमाले सांसदको अवरोधको कारण स्थगित भयो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्वीकार गरेपछि गत १२ साउन देखी नै संसद अवरुद्ध हुँदै आएको छ । त्यसलाई हटाउन सभामुख सहित सक्ता पक्षले छलफल गर्दै आए पनि प्रयास सफल भएको छैन ।

आजको बैठकबाट निष्कर्ष निकाल्ने अपेक्षा शीर्ष नेताहरूले गरे पनि छलफल सकारात्मक नभए आज दिउँसो तीन बजे बोलाइएको प्रतिनिधिसभा बैठक अन्यौंलमा पर्ने देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस