बागमती नदीले खतराको तह पार गर्‍यो, वर्षा अझै नरोकिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बागमती नदीले खतराको तह पार गर्‍यो, वर्षा अझै नरोकिने


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । निरन्तरको वर्षाले बागमती लगायतका देशका विभिन्न क्षेत्रका ठूला नदी र खोलामा खतराको तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले बाढीले क्षति पुर्‍याउन सक्ने भएकाले रौतहट,सर्लाहीका नदी किनाराका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको सूचना अनुसार बागमतीको पधेंरादोभान (कर्मैया) जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो । हनुमन्ते,मनोहरा लगायतमा पनि जल सतह निकै बढेको छ । बागमती जलाधार क्षेत्रकै हरिहरपुरगढी सिन्धुली, मरिन कुशुनटार आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । यस्तै, बर्दियाको बबई नदीले पनि खतराको तह पार गरेको छ । दाङ आसपासका क्षेत्रमा पनि भारी वर्षा भएकाले राप्ती नदीको जल सतह उच्च भएको छ । निरन्तरको वर्षा नरोकिएकाले ती नदी लगायत अन्य खोला र साना खहरामा बाढीको सतह बढ्दो क्रममा रहेको छ ।

अहिले देशभरको मौसम सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मंगलबार राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। साथै, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रहरूमा बाढी तथा पहिरोको जोखिम बढ्दो रहेकोले सर्तकर्ता अपनाउन जल तथा मौसम र बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पछिल्लो २४ घण्टामा मोरङमा भारी वर्षा भएको छ । विराटनगरमा सबैभन्दा उच्च १०९ दशमलव ५ मिलिमिटर मापन भएको छ । यस्तै, काँस्कीको पोखरामा १०२ दशमलव ५ मिलिमिटर, लुम्लेमा ८८ दशमलव २ मिलिमिटर,विरेन्दैन्गरमा ४४ दशमलव ५,ओखलढुङ्गामा ६० दशमलव ७ मिलिमिटर र काठमाडौँमा १४ दशमलव ३ मिलिमिटर वर्षा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस