पूर्व-पश्चिम नहर बनाउनु पर्नेमा कृषि मन्त्रीको जोड  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

पूर्व-पश्चिम नहर बनाउनु पर्नेमा कृषि मन्त्रीको जोड 


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले सिँचाइ सुविधाका लागि पूर्व-पश्चिम नहर निर्माण गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वार्षिक समीक्षा गोष्ठीमा उनले सिँचाइको अभावमा एक तिहाइ जग्गा बाँझो रहेकाले पूर्व-पश्चिम नहर बनाएर कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए । 

मनसुनको समयमा पनि पर्याप्त पानी नपर्दा तराई क्षेत्रमा समस्या भएको बताउँदै उनले सिँचाइ नहुँदा कृषिमा देखिएको समस्याले अब सिँचाइको सुविधाका लागि पूर्व-पश्चिम नहर निर्माण गर्नुको विकल्प नरहेको उल्लेख गरे । देशका ठूलाठूला नदीबाट तराई र पहाडको चुरे क्षेत्र हुँदै पूर्व-पश्चिम नहर बनाएर जान सके मात्र कृषिमा सोचेजस्तो परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो ।

मन्त्री भुसालले देशको अर्थतन्त्रको मेरुदण्ड रहेको कृषि क्षेत्रको विकासका कुरा गर्ने तर सिँचाइको सुविधा पुर्‍याउन नसक्ने अवस्था दुर्भाग्य भएको तर्क गरे । प्रमुख खाद्यान्न बाली धान रहेको हुँदा यसको विस्तारमा लाग्नुपर्नेमा उनले बताए । मन्त्री भुसालले भारतले चामल निर्यात रोकिसकेको अवस्थामा अब धानको उत्पादनलाई बढाउनुपर्ने र चैते धानको खेतीतर्फ किसानलाई आकर्षित गर्नुपर्ने विचार व्यक्त गरे ।

खाद्यान्न सङ्कट आउन नदिन बाँझो जग्गाको उपयोग गरी सिँचाइमा लगानी लगाउनुपर्ने बताउँदै उनले उत्पादन वृद्धिसँगै बीउविजन र रासायनिक मलको समस्या पनि समाधान गर्नुपर्ने बताए । मन्त्रालयले सामूहिक र करार खेतीलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको उहाँले जानकारी दिए । मन्त्री भुसालले मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्न कृषि र पशुपालनको क्षेत्रमा लगानी बढाउन पर्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस