अनुदानको मलमै कालोबजारी गर्ने २ सहकारीको जरिवानासहित अनुमति खारेज « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अनुदानको मलमै कालोबजारी गर्ने २ सहकारीको जरिवानासहित अनुमति खारेज


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । सरकारले अनुदानमा उपलब्ध गराएको मलमा पनि पोखरामा कालोबजारी भएको पाइएको छ । पोखरा महानगरले आइतबार गरेको अनुगमनमा तोकिएकोभन्दा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बढी मूल्यमा मल बिक्री वितरण भइरहेको खुलेको हो ।

अनुगमनका क्रममा पोखरा १० मा रहेको अमरसिंह कृषि सहकारीले २१ रुपैयाँको युरिया मललाई ३५ र ५० रुपैयाँको डीएपी ६५ रुपैयाँमा बिक्री गरेको फेला परेको महानगर कृषि महाशाखा प्रमुखले जनाएको छ । 

अमरसिंह सहकारीले महानगरदेखि अनुदानको मल बिक्रीवितरण गर्ने अनुमतिसमेत लिएको छैन । अनुमतिबिनै उपभोक्ता सहकारी सङ्घबाट मल ल्याएर आफैँ बढी मूल्यमा बिक्री गरिरहेको खुलेको महाशाखाको भनाई छ । 

अनुमतिबिना बढी मूल्यमा रासायनिक मल बिक्री वितरण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार २० हजार रुपैयाँ जरिवाना गरेको छ । 

कार्यक्षेत्रभन्दा बाहिरका सहकारीलाई पनि अनुदानको मल बिक्रीवितरण गर्न अनुमति दिएको, बिक्रीवितरण गरेको भन्दै प्रशासनले उपभोक्ता सहकारी सङ्घलाई पनि प्रशासनले कारबाही गरेको छ ।

प्रशासनले सहकारी सङ्घलाई २० हजार जरिवानासहित अनुदानको मल बिक्रीवितरण गर्ने अनुमतिसमेत खारेज गरिदिएको छ । सहकारी सङ्घले कृषि सामग्रीबाट ५० बोरा र साल्ट ट्रेडिङ कर्पोरेसनबाट ३५ बोरा अनुदानको मल लगेर बिलबिजक जारी नगरी आफूखुसी बेचेको प्रशासनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस