सुन तस्करीको छानविन प्रतिवेदन आएपछि समिति बनाउन सकिन्छ : जनार्दन शर्मा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुन तस्करीको छानविन प्रतिवेदन आएपछि समिति बनाउन सकिन्छ : जनार्दन शर्मा


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानविन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताएका छन्।

सोमबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमहासचिव शर्माले सुन तस्करी प्रकरणको जालो पत्ता लगाउन सरकार लागि परिरहेको बताएका हुन्।

उनले सरकारको छानविन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताए। उनले अहिलेको अवस्थामा सरकारले गरेको छानबिनलाई सहयोग गर्नु आवश्यक रहेको बताए। उनले बरु सरकारलाई निश्चित समयभित्र छानविन गरिसक्नुस् भने समय तोक्न भने सकिने बताए।

उनले भने, ‘संसद ठप्प गर्नु हुँदैन। संसद खोल्नुपर्छ। धेरै इस्युहरु छन् यतिबेला। ती इस्युहरुलाई यहाँ उजागर गर्नुपर्छ। हामीले बारम्बार के अनुरोध गरेका छौँ भने प्रतिपक्षी दललाई यो संसद खोल्नका लागि सहजीकरण गर्नुहोस्। मन्त्रीहरूको जवाफ सुनौँ। उहाँहरूको जवाफ सुनेर हामी अगाडी बढौँ भनेर सरकारको तर्फबाट भइराखेको छ। सभामुखले भनिरहनु भएको छ। हाम्रो तर्फबाट संसद खोल्न दिनदिनै पहल भइराखेको छ। प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतालाई भेटिपनि राख्नुभएको छ। छलफल पनि भइरहेको छ। हामी छिटोभन्दा छिटो संसद खोल्न चाहन्छौँ। सरकारले पक्रिसकेपछि त्यसलाई कसरी यो सुन आइरहेको छ भनेर जालो पत्ता लगाउँदै छ त। त्यो छानबिनको रिपोर्ट आइसकेपछि चित्त नबुझ्दा, आवश्यक पर्दा, अधुरो हुँदा भोलि उच्चस्तरीय बनाएर थप छानविन गर्न पनि आवश्यक होला। तर अहिले छानविन प्रक्रियालाई सबैले मद्दत गर्नु नै राम्रो हो नि। बरु यति दिनभित्र छानविन सक्नुस् भन्न सकियो। छिटो सक्नुस् भन्न सकियो। सकिसकेपछि अनि आवश्यक परे उच्च स्तरीय बनाए हुन्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस