‘भ्रष्टाचारमा शून्य सहनशीलताको नीति नलिए काँग्रेसको औचित्य सकिन्छ’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘भ्रष्टाचारमा शून्य सहनशीलताको नीति नलिए काँग्रेसको औचित्य सकिन्छ’


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति नलिए काँग्रेस समाप्त हुने चेतावनी दिएका छन् । 

केन्द्रीय समितिको बैठकमा प्रत्यक्ष प्रसारणका कारण खुलेर छलफल हुन नसकेको भन्दै असन्तुष्टि जनाएका कोइरालाले काँग्रेसको केन्द्रीय समिति बैठकबाट निर्णयमा त्यसको संकेत देखिनुपर्ने बताए ।

बीपी कोइराला स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा कोइरालाले जनतासँग नजोडिने पार्टीको भविष्य पनि सुरक्षित नरहेको बताए ।

“भोलिको निर्णय पछिको काँग्रेस भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिमा अघि बढ्नुपर्छ,” कोइरालाले भने, “त्यसो गर्न सकेनौँ भने काँग्रेसको औचित्य समाप्त हुन्छ ।”

उनले काँग्रेस विधिमा मात्र चले मात्रै पनि धेरै चुनौती पार हुने बताए । “काँग्रेसको चुनौती विधिसम्मत चल्न नसक्नु मात्र हो । विधि अनुसार मात्र चल्ने हो र गर्नुपर्ने काम गर्‍यो भने काँग्रेसको चुनौती पार गर्न सक्ने अवस्था म देख्छु,” कोइरालाले भने, “तरुण दल बनाएका छौँ, विधानभन्दा बाहिर गएर । अनुशासन समितिदेखि अन्य समिति बनाउन र पूर्णता दिन सकेका छैनौँ । यी कुराहरूलाई भोलिको निर्णय आउने छ । त्यो निर्णयपछि हामीहरू नेपाली काँग्रेसलाई विधिसम्मत, विधानसम्मत चलाउँछौँ भन्ने विश्वास दिलाउन चाहन्छु ।”

Tags :
प्रतिक्रिया दिनुहोस