ललिता निवास प्रकरणमा ५ पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ललिता निवास प्रकरणमा ५ पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा संलग्न रहेको भन्दै तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगोविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको हो ।

१७ पूर्व सहसचिवसहितका कर्मचारी ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका छन् । एक प्रहरी अधिकारीका अनुसार उनीहरूविरुद्ध पनि यसअघि नै पक्राउ पुर्जी लिई सकिएको छ । जसमध्येका एक पूर्व सहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अदालतबाट अन्तरिम आदेश लिएकाले तत्कालीन सहसचिव कलाधर देउजालाई कागज गराएर छाडिएको छ । बाँकी आरोपितको खोजबिन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा संलग्न विरुद्ध मुलुकी ऐन २०२० र सङ्गठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान गरिरहेको छ । पक्राउ पुर्जी जारीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात सुरक्षामा खटिएका अङ्गरक्षक नै फिर्ता गरेर सम्पर्कविहीन भएका थिए भने अरू आरोपितको पनि खोजबिन भइरहेको ती अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस