त्रिदेशीय व्यापारिक सडक निर्माणको जिम्मा सेनालाई दिन माग   « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिदेशीय व्यापारिक सडक निर्माणको जिम्मा सेनालाई दिन माग  


२१ असार २०८०, बिहिबार


काठमाडौँ । हिमाली जिल्ला डोल्पामा पर्ने ल्यासिक्याप-सिस्यौल सडकखण्डको ३३ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन माग गरिएको छ।

डोल्पाबाट निर्वाचित संघीय सांसद धनबहादुर बुढाले सडक निर्माणको जिम्मा सेनालाई दिन माग गर्दै डोल्पाका सम्पूर्ण प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलको तर्फबाट संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पत्र बुझाएका हुन्।

देशको रणनीतिक महत्वको रूपमा रहेको नेपाल-चीन सिमानामा पर्ने मोरिम-सिस्यौल-दुनै-रुपैहिडिया जोड्ने सडकलाई ब्लास्टिङ गरेर मात्र ट्रयाक खोल्न सम्भव भएकाले सेनालाई दिन आग्रह गरिएको सांसद बुढाले बताए।

हाल मोरिम-सिस्यौल सडकखण्डको ४८ किलोमिटर ट्रयाक खुलिसकेको र सिस्यौल-ल्यासिक्यापको ३३ किलोमिटरको चट्टानी खण्ड मात्र बाँकी रहेको बुढाले बताए।

सेनाले नै विशाल भिर पहरा छिचोलेर डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोडेर महत्त्वपूर्ण योगदान रहेको बताउँदै अब यो सडक पनि सेनाले खोल्नुपर्ने उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस