मादीमा पहिराले दुई परिवार विस्थापित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मादीमा पहिराले दुई परिवार विस्थापित


२१ असार २०८०, बिहिबार


काठमाडौँ । कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिराले दुई घर परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।  चार घर जोखिममा परेका छन् ।

मादीको वडा नं. ६ का पाँच र वडा नं. २ मा एक परिवार पहिराको जोखिममा परेको गाउँपालिकाले जनाएको छ । यही असार १९ गतेको अविरल वर्षाले मादी–६ को काहुँखोला-दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घरलाई पहिराले जोखिम पुर्‍याएको हो । अविरल वर्षापछि घरसँगैको सडक पहिराले लैजाँदा स्थानीय कमलापति बरालको दुई घर र दीपक बरालको एक घर एक गोठमा क्षति पुगेको छ । 

यी दुवै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय लिएको सोही वडाका वडाध्यक्ष डिलबहादुर क्षेत्रीले बताए ।

त्यसैगरी स्थानीय शमसेर पाण्डेको एक घर, भगवानसिंह गुरुङको एक घर एक गोठ र विष्णुमाया घर्तीको एक घर र एक गोठ जोखिममा परेको  वडाध्यक्ष क्षेत्रीले घर जोखिममा परेकालाई उचित व्यवस्थापनका लागि गाउँपालिकामा सिफारिस गरिएको जानकारी दिए ।

वडाध्यक्ष क्षेत्रीले भने, “पहिराले विस्थापित परिवारलाई आफन्त तथा समाजघरमा राखिएको छ । प्रभावितको व्यवस्थापनका लागि गाउँपालिकामा सिफारिस गरेका छौँ ।” गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले पहिराले पीडित परिवारलाई गाउँपालिकाबाट राहत प्रदान गरिने बताए । उनले विस्थापितलाई वैकल्पिक बसोबासका लागि पहल भइरहेको जानकारी दिए। अध्यक्ष गुरुङले भने, “विस्थापित परिवारलाई पालिकाबाट राहत दिन्छौँ । प्रदेश तथा सङ्घीय सरकारसँग समेत समन्वय गरी एकै दिन एउटै कार्यक्रम गरेर नियमानुसार उचित राहत प्रदान गर्नेछौँ ।”

अविरल वर्षा तथा पहिराका कारण मादीका अन्य वडामा समेत क्षति पुगेको बताइन्छ । विशेष गरी ग्रामीण सडकमा पहिराले क्षति गराएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस