कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ


२१ असार २०८०, बिहिबार


जानकी । बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् ।

प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन् ।

डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो । छालाको लम्बाइ नौ फिट आठ इञ्च रहेको छ । घाँटीमा दुई ठाउँमा गोलीको प्वाल फेला परेको छ । बरामद गरिएको हड्डी कति वटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारै जना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्मको कैद वा रु पाँच लाखदेखि रु १० लाखसम्मको जरिवाना अथवा दुवै सजाय हुनसक्ने वन अधिकृत कर्णले बताए । चारै जनाबारे थप अनुसन्धान डिभिजन वन कार्यालय गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस