जातीय विभेद गर्नेलाई राज्यले कानुनीरुपमा दण्ड दिनुपर्छ : अध्यक्ष यादव « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

जातीय विभेद गर्नेलाई राज्यले कानुनीरुपमा दण्ड दिनुपर्छ : अध्यक्ष यादव


२१ असार २०८०, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जातीय विभेद गर्नेलाई समाजले सामाजिकरूपमा बहिष्कार र राज्यले कानुनीरुपमा दण्ड दिनुपर्ने बताएका छन् ।

शिल्पीरदलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मूक्ति सङ्गठनद्वारा संयुक्तरुपमा माइतीघर मण्डलामा बुधबार आयोजना गरिएको जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रममा उनले जातीय विभेद गर्नेलाई समाजले बहिष्कार गर्नुपर्ने बताए । उनले भने, ‘जातीय विभेद गर्नेलाई समाजबाट, व्यवहारबाट पद्धति, रीतिरिवाज र चालचलनबाट जहाँ जुनरुपमा छ त्यसलाई जरैदेखि उखेलेर फाल्नुपर्छ ।’

उनले जातीय विभेदलाई नेपालमा संवैधानिक र कानुनीरुपले दण्डनीय मानेको र अन्तर्राष्ट्रिय कानुनले पनि जातीय विभेदलाई अमानवीय, मानवता विरोधी अपराधका रूपमा लिएको बताउँदै यस्ता विभेद कानुनमा मात्र लेखेर नहुने धारणा राखे ।

अबको युगमा मान्छेलाई उसको क्षमता, योग्यता, चरित्र र उसले गरेको योगदानका आधारमा हेरिने भएकाले कुन जातमा जन्म्यो, कुन कूलमा जन्म्यो भनेर हेर्ने युग नभएकोसमेत बताए ।

समाजमा विद्यमान सामन्तवादी चिन्तन, व्यवहार, प्रवृत्ति, विभेद र भेदभावका विरुद्ध सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए । जबसम्म यी विभेद र भेदभाव कायम रहन्छन् तबसम्म खबरदारी अभियान निरन्तर जारी रहनेसमेत अध्यक्ष यादवले जानकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस