अब सवारी लाइसेन्सको भुक्तानीसमेत अनलाइनबाटै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अब सवारी लाइसेन्सको भुक्तानीसमेत अनलाइनबाटै


२० असार २०८०, बुधबार


काठमाडौँ । यातायात व्यवस्था विभागले बुधबार देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन साबिकको लाइसेन्स प्रणालीमा सुधार गरी विद्युतीय सेवा प्रवाह प्रणालीको सुरुवात गरेको छ ।

सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रक्रियालाई थप व्यवस्थित बनाउने गरी ‘अप्लाइडीएलन्यू डीओटीएम डट जीओभी डट एनपी’ वेबसाइटको सुरुवात गरेको छ ।

यो प्रणालीबाट सेवाग्राहीले लाइसेन्स प्रक्रियाको आवेदनदेखि राजस्व भुक्तानी समेत गर्न सक्नेछन् । यसअघि लाइसेन्स प्रक्रियाको अनलाइन आवेदन दिन सकिने व्यवस्था भए पनि फर्म बुझाउने, राजस्व भुक्तानी देखि लिखित र प्रयोगात्मक परीक्षा यातायात कार्यालयमा नै गएर दिनुपर्ने व्यवस्था रहेको थियो । तर, यस प्रविधिको सुरुवातसँगै अब आवेदनपछि सेवाग्राहीले एक पटक मात्र कार्यालय गए हुने भएको विभागले जनाएको छ ।

हाल देशभर दैनिक सरदर ६ देखि ७ हजार सेवाग्राहीले सवारी चालक अनुमति पत्रका लागि आवेदन दिने गरेका छन् ।

यो प्रणाली पूर्ण रूपमा लागू भए पश्चात् सेवाग्राहीहरू लिखित तथा प्रयोगात्मक स्थल बाहेक यातायात कार्यालयमा एक पटक मात्र उपस्थित भए पुग्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस