शहरी यातायात प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सहसचिव कुबेर नेपाली नियुक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शहरी यातायात प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सहसचिव कुबेर नेपाली नियुक्त


१९ असार २०८०, मंगलबार


काठमाडौँ । शहरी यातायात प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सहसचिव कुबेर नेपालीलाई नियुक्त गरिएको छ ।

आज मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । शहरी क्षेत्रमा सार्वजनिक यातायात सेवालाई सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय, लागत प्रभावी र सुरक्षित बनाई सार्वजनिक यातायात नीतिको प्रभावकारी व्यवस्थापनको लागि भन्दै सरकारले प्राधिकरण ऐन २०७९ जारी गरेको थियो ।

संविधानतः यातायातबारे राष्ट्रिय नीति संघीय सरकारले बनाउने र यातायातको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको हुने भनी किटान गरेको अवस्थामा संघीय राजधानीको हकमा भने संघीय सरकारले यातायात नीति मात्रै नबनाई कार्यान्वयात्मक तहमासमेत सहभागिता जनाउने गरी कानुन बनाएको थियो । जुन २०७९ असोज ९ गते प्रमाणीकरण भइसकेको छ ।

प्राधिकरणको दैनिक प्रशासन र व्यवस्थापन सम्बन्धी कार्य सञ्चालन गर्न प्रदेश कानुन बमोजिम एक कार्यकारी अधिकृतको नियुक्ति हुने व्यवस्था रहेको छ । र, उक्त पद खुल्ला प्रतिस्पर्धाको आधारमा नेपाल सरकारले गर्ने भनिएको छ । तर उपदफा २ बमोजिम प्रमुख कार्यकारी अधिकृतको नियुक्ति नहुँदासम्मको लागि नेपाल सरकारले राजपत्राङ्कित प्रथम श्रेणीको कुनै अधिकृतलाई प्रमुख कार्यकारी अधिकृतको रूपमा कामकाज खटाउन सक्ने व्यवस्था छ ।

प्रमुख कार्यकारी अधिकृतको पदावधि पाँच वर्षको हुनेछ ।

यस्तो छ शहरी क्षेत्र सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण ऐन, २०७९

Tags :
प्रतिक्रिया दिनुहोस