कृषि अर्थतन्त्र कमजोर हुँदा गरिबी हट्न सकेन : ओली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कृषि अर्थतन्त्र कमजोर हुँदा गरिबी हट्न सकेन : ओली


१९ असार २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि पेसा निर्वाहमुखी मात्रै भएकाले नेपालको गरिबी हटाउन नसकिएको बताएका छन् ।

मङ्गलवार पार्टी कार्यालय च्यासलमा पार्टीको कृषि तथा पशुपंक्षी विभागको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालको दिगो विकास नै कृषि भए पनि कृषि अर्थतन्त्र नै कमजोर हुँदा गरिबी हट्न नसकेको उल्लेख गरे ।

स्रोत र सम्भावना अथाह हुँदाहुँदै स्रोतको न्यूनतम उपयोग गर्न नजान्दा समग्र मुलुकको अर्थतन्त्र नै कमजोर बनेको ओलीको भनाइ छ । कृषिमा गरिने मेहनत र लगानीको प्रतिफलको ग्यारेन्टी गरिदिने हो भने कोही पनि बेरोजगार बस्नु नपर्ने उनले दाबी गरे ।

अनाज उत्पादनका लागि प्राकृतिक र उर्वर भूमिलाई बाँझो राखेर देश उँभो नलाग्ने भन्दै ओलीले कृषिलाई आधुनिकीकरण गर्दै उद्योगमा लैजान सुझाव दिए ।

अध्यक्ष ओलीले कृषि क्षेत्रलाई रोजगारी र स्वरोजगारको अवसर बनाउँदै अनाज निर्यात गरेरै देशलाई धनी बनाउन सकिने दाबी गरे । उनले कृषिमा गरिने लगानी प्रभावकारी बनाउँदै यसबाट आउने प्रतिफलको न्यायोचित वितरण गरिए विदेशबाट नेपाली आफै घर आउने दाबी गरे ।

ओलीले गरिबी निवारणका लागि भाषण गर्नेभन्दा पनि आधुनिक कृषि प्रणालीमा मुलुकलाई लैजानुपर्ने बताए । कृषिलाई उद्योगका रूपमा विकास गर्दै देशकै आर्थिक मेरुदण्ड बनाउन सकिए मात्रै नेपालको आर्थिक प्रणाली दिगो हुने ओलीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस