लुम्बिनी प्रदेश सभाको बैठक बस्दै  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै 


१८ असार २०८०, सोमबार


काठमाडौँ । बजेटबारे असहमति राख्दै प्रमुख प्रतिपक्षी दल एमालेले गरेको विरोधका कारण आइतबार  अवरुद्ध भएको लुम्बिनी प्रदेशसभाको बैठक सोमबार पुन: बस्दैछ । दिउँसो १ बजेका लागि प्रदेशसभाको सचिवालय राप्ती उपत्यकामा बैठक बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले भने बैठक अवरुद्ध गर्ने तयारीमा छ ।  

आइतबार एमालेको विरोधका बाबजुद आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रदेशसभामा पेस भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गरेका हुन् । मन्त्री मास्की बोल्दै गर्दा एमाले सांसदहरू रोस्ट्रम घेराउ गर्न पुगेका थिए । अवरोधका कारण स्थगित भएको बैठक पुनस् सोमबार दिउँसो १ बजे बोलाइएको थियो ।

यसअघि पनि असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै एमालेले विरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन । सरकार जसरी पनि संसद् चलाउने कसरतमा सत्तापक्ष रहेको छ भने लिखित प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडानमा प्रमुख प्रतिपक्षी दल एमाले छ ।

प्रतिपक्षले प्रदेश निर्देशनालय खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने र बजेटमा भएको मनोमानी सच्याउनु पर्ने माग गर्दै आएको छ । एमाले संसदीय दलका नेता लीला गिरीले सरकारको बजेट सच्चाउने प्रतिबद्धता र सहमति नभई प्रदेशसभा अगाडि बढ्न नदिने बताए ।

लुम्बिनीमा प्रदेश सरकारले असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस