बुकाचो गढीमा पृथ्वीनारायण शाहको सालिक अनावरण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बुकाचो गढीमा पृथ्वीनारायण शाहको सालिक अनावरण


१६ असार २०८०, शनिबार


काठमाडौँ । सूर्यविनायक नगरपालिका-८ सिपाडोल नैचालस्थित ऐतिहासिक बुकाचो गढीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक निर्माण गरिएको छ । नेपाली सेनाको इन्द्र बक्स गणद्वारा आज यहाँ आयोजित कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य किरण थापा र नेपाली सेनाका उपरथी सागरबहादुर थापाले संयुक्त रूपमा उक्त गढीको उद्घाटन तथा सालिकको अनावरण गरे । 

नेपाल एकीकरण गर्ने क्रममा भक्तपुर आक्रमण गरी विजयी हासिल गर्दा पृथ्वीनारायण शाहले बुकाचो गढीमा बङ्कर बनाएर बसेको क्षेत्रमा नेपाली सेनाको रू ५० लाख र सूर्यविनायक नगरपालिकाको रू २० लाखको लागतमा सालिक निर्माण गरिएको हो । शाहको छ फिट उचाइको पित्तलबाट निर्मित सालिक, बङ्कर क्षेत्रमा दुई कोठासहितको भवन, कम्पाउन्डलगायत संरचना निर्माण गरिएका छन् ।

प्रदेशसभा सदस्य थापाले भक्तपुरको पर्यटकीय क्षेत्रका रूपमा पहिचान बनाएको यस क्षेत्रमा परम्परागत शैलीमा बिन्दवासिनी मन्दिर निर्माण भइरहेको जानकारी दिए । नेपाली सेनाको रू २५ लाखको लागतमा यसअघि यहाँ भ्यू टावर निर्माण सम्पन्न भइसकेको छ । उनका अनुसार नगरपालिकाले यस क्षेत्रमा पिकनिक स्पोर्ट, शौचालय र पानी ट्याङ्की निर्माण गर्नुका साथै भ्यू टावर निर्माण गरेपछि भ्यू टावरबाट हिमा दृश्यसहित उपत्यका हेर्न र गढीको अवलोकन गर्न उपत्यकालगायत विभिन्न ठाउँबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । 

सांसद थापाले भक्तपुरको जगातीबाट सात किलोमिटरमा पुग्न सकिने दुई हजार एक सय मिटर उचाइमा रहेको गढीबाट उपत्यकाको मनोरम दृश्यहरु देख्न सकिने, यहाँबाट जङ्गलका हरियाली दृश्यावलोकन गर्न सकिने, वन्यजन्तु एवं चराको अवलोकन गर्न सकिने तथा माछापुच्छ्रे, गणेश, गौरीशङ्कर, सगरमाथालगायत हिमालको अवलोकन गर्न सकिने बताए । उनले गढीको संरक्षण र संवर्द्धन जनप्रतिनिधिहरूले गर्नुपर्नेमा जोड दिँदै यसलाई भक्तपुरकै मुख्य पर्यटकका रूपमा विकास गर्नुपर्ने  औँल्याए । 

कार्यक्रममा नेपाली सेनाका उपत्यका पृतनापति उपरथी सागरबहादुर थापाले नेपालको एकीकरणक सन्दर्भमा पृथ्वीनारायण शाहले बनाएको गढी, किल्लाको संरक्षण गर्ने र इतिहासलाई जीवित राख्न नेपाली सेना लागिरहेको बताए । उनले यस्ता ऐतिहासिक महत्त्व बोकेका क्षेत्रको नेपाली सेनाले संरक्षण गर्ने बताए ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले ऐतिहासिक गढीको संरक्षण भएको बताउँदै सुरक्षाका दृष्टिकोणबाट जिल्ला प्रशासन कार्यालयले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस