संघीय निजामती सेवा ऐनको मस्यौदा संसदमा छिट्टै पेस गछौँ : मन्त्री मोदी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संघीय निजामती सेवा ऐनको मस्यौदा संसदमा छिट्टै पेस गछौँ : मन्त्री मोदी


११ असार २०८०, सोमबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा ऐनको मस्यौदा छिट्टै संसदमा पेस गर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

मन्त्री मोदीले सरकारमा सत्तारूढ दलहरू फेरबदल भएका कारण सो ऐनको मस्यौदा संसदमा पेस गर्ने काममा ढिलाइ हुन गएको स्पष्टीकरणसमेत दिए।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरूको सहकार्यमा बनेको समीकरण परिवर्तन भई काँग्रेस, माओवादीसहितको समीकरण बनेकाले सो ऐनको मस्यौदा संसदमा पेस गर्ने काममा ढिलाइ हुन गएको उनको भनाइ थियो।

मन्त्री मोदीले सो ऐनको मस्यौदामा देखिएको समस्या पनि यही असार १५, १६ र १७ गते बस्ने प्रधानमन्त्रीसहितका उच्चस्तरीय छलफलबाट टुङ्गो लाग्ने योजना रहेको पनि जानकारी गराए।

उनले सो ऐनको मस्यौदा तयार पार्न सम्बद्ध सबै पक्षको सुझाव लिइएको पनि बताए। मन्त्री मोदीले कर्मचारी सरुवा, बढुवामा आफ्नो मन्त्रालयमातहतका कुनै अधिकारीले भ्रष्टाचार गरेको पाइए कडा कारबाही गर्ने चेतावनीसमेत दिए।

उनले कर्मचारी सरुवा, बढुवामा हुने भ्रष्टाचार नियन्त्रण आफ्नो मन्त्रालय एक्लैले गर्न नसक्ने पनि पटक-पटक दोहोर्‍याए। सबै मन्त्रालयको सहकार्यमा मात्रै सो कामलाई नियन्त्रण गर्न सकिने मन्त्री मोदीको भनाइ थियो।

Tags :
प्रतिक्रिया दिनुहोस