झापाली किसानको केरा खेतीमा बढ्दो आकर्षण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

झापाली किसानको केरा खेतीमा बढ्दो आकर्षण


११ असार २०८०, सोमबार


झापा । उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकाले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा व्यावसायिक उन्नत जातको केरा खेती भइरहेको छ । किसानले एक कट्ठादेखि दुई सय ५० बिघा जमिनमा केराको व्यावसायिक खेती गर्दै आइरहेको उनको भनाइ छ ।

उनले केरा खेतीमा प्रोत्साहन गर्न राज्यबाट दिइने अनुदान, बजारीकरण सहज र कृषि बिमा समेत हुने कारणले पनि यसतर्फ किसानको आकर्षण बढेको बताए । जिल्लाको भद्रपुर नगरपालिका, झापा र गौरीगञ्ज, बाह्रदशी, कचनकवल गाउँपालिकालगायतका क्षेत्रमा केराको व्यावसायिक खेती भइरहेको छ ।

यहाँका किसानले सुरुमा चिनीचम्पा, मालबोक, इजरायली प्रजातिको केराको खेती गर्दै आएका थिए तर पछिल्लो समय खाँदा मिठो हुने, ठूला कोसा भएको र उत्पादनसमेत बढी हुने हुँदा किसानले जी-नाइन जातका केरा लगाउन थालेका छन् ।

गणपति एग्रीकल्चर कृषि फार्मले भद्रपुर नगरपालिका-४ र गौरीगञ्ज गाउँपालिका-५ मा गरी ४१ बिघा जमिनमा जी-नाइन जातको व्यावसायिक केरा खेती सुरु गरेको छ । भद्रपुरमा भद्रपुर गौशालाको १६ र गौरीगञ्जमा स्थानीय किसानको ५७ बिघा जमिन भाडामा लिएर फार्मले रु दुई करोडको लागतमा केरा खेती सुरु गरेको जनाएको छ ।

फार्मका अध्यक्ष वासुदेव उप्रेतीले सुरुमा वीरगञ्ज र अहिले बुद्धशान्ति गाउँपालिकाको खुदुनाबारी, गौरादह नगरपालिकाको नर्सरीबाट टिष्यु कल्चरद्वारा उत्पादित केराको बिरुवा ल्याएर रोपण गरिएको बताए ।

उनले प्रतिगोटा रु ३० का दरले खरिद गरी भद्रपुरमा ३० हजार र गौरीगञ्जमा ४० हजार जी-नाइन जातका केराको बिरुवा लगाएको बताए । नौ महिनाअघि भद्रपुरमा १६ बिघा जमिनमा लगाएको बिरुवाको प्रत्येक बोटमा केरा पसाएको छ । उनले सो केरा दसैँ तिहारमा निकाल्ने तयारी रहेको बताए ।

स्थानीय गौशालाबाट गोबर मल खरिद गरेर केरामा हाल्दै आएको बताए । उनले भने, ‘हामीले ८० प्रतिशत प्राङ्गारिक मलको प्रयोग गरेका छौँ । बीस प्रतिशत मात्र युरिया, डिएपी र पोटास मलको प्रयोग गर्छौं ।’ पाँच जना युवा मिलेर केराको व्यावसायिक खेती गर्दै आएको उनले बताए । उनले गौरीगञ्जमा दुई महिना अघि मात्र २५ बिघा जमिनमा ४० हजार बिरुवा रोपण गरेको बताए । उनले बाँकी रहेको ३२ बिघा जमिनमै केराको व्यावसायिक खेती गरिने बताए ।

‘केरा खेतीमा व्यावसायिक ज्ञान र दक्ष प्राविधिक नहुँदा समस्या हुँदो रहेछ’, उनले भने, ‘विज्ञलाई सोध्दै र अन्य किसानसँगको अनुभवको आधारमा खेती गरिरहेका छौँ ।’ उन्नत प्रजातिको केरा भएका कारण बजारीकरणमा समस्या नहोला भन्ने आशा रहेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शिवाकोटीले झन्झटिलो र खर्चिलो धान खेतीको विकल्पको रूपमा किसानले केराको खेती लगाउन थालेको बताए । उनले ज्ञान केन्द्रले हाल जिल्लामा दुई वटा केराको ब्लक सञ्चालन गरिरहेको बताए ।

यसैगरी, जिल्लामै पहिलो पटक रातो केराको खेती गर्दै आएका झापा गाउँपालिका चन्द्रप्रसाद बस्नेतलाई रु एक लाख राशिको पुरस्कारबाट हालै सम्मान गरिएको छ । बस्नेतलाई नेपालस्थित इजरायली राजदूतावास र साना किसान विकास लघुवित्त वित्तीय संस्थाले संयुक्त कार्यक्रम गरी पुरस्कृत गरेको हो ।

बस्नेत युथ एग्री अवार्ड २०७९ बाट सम्मानित भएको हो । इजरायलबाट फर्केर विगत चार वर्ष अघिदेखि उनले २५ बिघा जमिनमा चिनी चम्पा, विलीअम हाइब्रिड, मालभोग, जी-नाइन र रातो केराको खेती गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस