राष्ट्रपति र उपराष्ट्रपति खोपाको देउता जस्तो बस्न मिल्दैन : सांसद सुवाल « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति र उपराष्ट्रपति खोपाको देउता जस्तो बस्न मिल्दैन : सांसद सुवाल


१० असार २०८०, आइतबार


काठमाडौँ । सांसद प्रेम सुवालले राष्ट्रपति र उपराष्ट्रपतिले खोपाको मूर्ति जस्तो मौन बस्न नमिल्ने बताएका छन् ।

आज आइतबार प्रतिनिधि सभामा उनले राष्ट्रपति र उपराष्ट्रपति चुप लागेर बस्न नमिल्ने भन्दै उनीहरू आफ्नो भूमिका बिर्सिएर बसेको आरोप लगाए ।

उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपति खोपाको मूर्ति हैन । राष्ट्रपति र उपराष्ट्रपतिले राष्ट्रिय र अन्तराष्ट्रिय विषयमा सरकारका प्रधानमन्त्री र मन्त्रिहरुलाई समेत सहभागी गराई राजनैतिक दलहरूसँग बराबर छलफल गर्न जरुरी छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भइसकेपछि नाक मुख नै नदेखिने । यही संसदमा राष्ट्रपति एक पटक आउनु हुन्छ त्यसपछि नाक मुख देख्नै गारो त्यसरी जनताको प्रतिनिधि हुँदैन ।’

उनले राष्ट्रपति र उपराष्ट्रपतिले भारतले संसद भवनमा राखेको अखण्ड भारतको नक्साबारे केही नबोलेको र सरकारी कार्यालयलाई कार्यकर्ताको भेटघाटको थलो बनाएको भन्दै आक्रोश पोखे ।

‘राष्ट्रपति र उपराष्ट्रपतिले नेपालको लुम्बिनी र कपिलवस्तु समेत गाभिएको अखण्ड भारतको नक्सा खारेज गराउन भारत सरकारलाई भन्नुपर्छ । देशको सार्वभौमिकतामाथि अस्तक्षप भयो सरकार भनेर भन्नुपर्छ । संसद्लाई छलेर सरकारबाट पेस भएको नागरिकता विधेयक तथा अन्य प्रस्तावहरूलाई ठाडै अस्वीकार गर्न सक्नुपर्छ ।’उनले भने ‘राष्ट्रपति र उपराष्ट्रपतिले आफूलाई उम्मेदवार बनाउने पार्टीका नेताहरूको भनाइमा लागेर सरकारी कार्यालय र निवासलाई कार्यकर्ता भेटघाट गर्ने थलो बनाउन मिल्दैन ।’

जनताको राजस्व खाएर बसेकोले जनता र देशको हितमा काम गर्नुपर्ने उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस