विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा


७ असार २०८०, बिहिबार


दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिले खर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक दूरीका कारण विद्यार्थीलाई दैनिक विद्यालय आउजाउमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था छ ।

आँबुखैरेनी गाउँपालिका–५ लाम्दिकी मुना गुरुङ विद्यालय जान बिहान ७.३० बजे नै घरबाट निस्किनुहुन्छ । गुरुङलाई विद्यालय पुग्न साँढे दुई घण्टा समय लाग्छ । सबेरै नहिँडे विद्यालय पुग्न असम्भव छ । कन्यादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत गुरुङ दैनिक पाँच घण्टा विद्यालय आउजाउ गर्न खर्चिनु हुन्छ ।

बिहान साँढे दुई घण्टा र विद्यालयबाट घर फर्किन साँढे दुई घण्टाको यात्रा गर्नुपर्ने गुरुङको बाध्यता छ । ‘बिहानै हिँडेर विद्यालय जाने र फर्किने गर्दा पाँच घण्टाको यात्रा गर्नुपर्ने हुन्छ, बेलुका घर फर्किँदा त रातै पर्छ,’ गुरुङले भने । दैनिक यसरी हिँड्दा खुट्टा दुख्नुका साथै अध्ययनमा पनि समस्या हुँदै आएको उनको भनाइ थियो ।

सोही कक्षामा अध्ययनरत लाम्दिको तल्लो भेगका विजय गुरुङ पनि दैनिक विद्यालय आउजाउ गर्न पाँच घण्टा हिँड्छन्। बिहानै साथीभाइसँग पैदल यात्रा गरेपछि करिब साँढे दुई घण्टापछि उनी विद्यालय पुग्छन् । उनले भने, ‘हाम्रो घरबाट विद्यालय पुग्न साँढे दुई घण्टा लाग्छ । साथीहरूसँग हिँडेरै विद्यालय जाने आउने गरेका छौँ ।’

कक्षा ८ मा अध्ययनरत सोही ठाउँकै गुनबहादुर गुरुङको दैनिकी पनि यस्तै छ । उनले भने, ‘घर नजिक विद्यालय छैन । यसरी हिँड्नुको विकल्प छैन ।’ विद्यालयबाट सबैभन्दा टाढाको दूरीमा रहेको ठाउँ हो लाम्दि । यहाँका विद्यार्थी दैनिक यसरी नै हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ । यसबाहेक भोटेश्वाराका विद्यार्थीले पनि दैनिक विद्यालय जान मात्रै डेढ घण्टा हिँड्नुपर्ने बाध्यता छ ।

विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले भौगोलिक दूरीका कारण विद्यार्थीलाई आउजाउमा समस्या हुँदै आएको बताए । ‘गाउँपालिकाले टाढाबाट आउने विद्यार्थीको सुविधाका लागि दुई वटा जीपको व्यवस्था गरेसँगै अब विद्यार्थीलाई आउजाउमा सास्ती हुदैन्’, उनले भने ।

प्रधानाध्यापक गुरुङका अनुसार हाल विद्यालयमा एक सय २४ विद्यार्थी अध्ययनरत रहेकामध्ये ८० प्रतिशतलाई दैनिक विद्यालयमा आउजाउमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था थियो । उनले अब विद्यार्थीलाई विद्यालय आउजाउमा हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

विद्यालयलाई बस खरिद गरेर दिने योजना बनाएको गाउँपालिकाले तत्कालका लागि मङ्गलबारदेखि दुई वटा जीप सञ्चालनमा ल्याएको जनाएको छ । योसँगै भौगोलिक दूरी टाढा भएका विद्यार्थीले अब पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

जीप सञ्चालनमा आएपछि कक्षा १० मा अध्ययनरत मुना गुरुङले जीप चढेर विद्यालय पुग्न २० २५ मिनेट लाग्ने बताइन । उनले भनिन्, ‘अब एकदम सजिलो हुने भयो । हिँड्दा खर्च हुने समयमा अब पढाइमा लगाउन सकिन्छ ।’

विद्यालयमा आवतजावतका लागि गर्नुपर्ने कष्टकर यात्रामा पूर्णविराम लागेको विद्यालयका प्रधानाध्यापक गुरुङले बताए । उनले भने, ‘पन्ध्र वर्ष अगाडि म पनि यही विद्यालयमा पढ्दा दैनिक घण्टौँ हिँडेर आउँथे । गाउँपालिकाले जीप उपलब्ध गराएपछि कष्टकर यात्रा अब अन्त्य भएको छ ।’

प्रधानाध्यापक गुरुङका अनुसार दुई वटा जीपले दैनिक दुई पटक विद्यार्थी ल्याउने र घर लैजाने गरेको छ । वडा नं ५ मा एउटा र वडा नं ६ का लागि अर्को जीप सञ्चालन गरिएको छ । वडा नं ५ मा चल्ने जीपले बाटोमा पर्ने ६ नं वडाका विद्यार्थीलाई पनि विद्यालय ल्याउने लैजाने गरेको उनले जानकारी दिए । उनका अनुसार दुवै वडाका करिब ८० विद्यार्थीले यो सुविधा पाएका छन् ।

‘वडा नं ५ र ६ को सिमानामा पर्ने खार डाँडामा रहेको जोखिमपूर्ण भिरको बाटो हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ’, प्रधानाध्यापक गुरुङले भने, ‘उक्त ठाउँमा दुई वर्ष अगाडि ग्याबिन जाली भरेर सुरक्षित बनाइएको छ । वर्षाको समयमा बाटो बिग्रिने, पहिरो जानेलगायत समस्याका कारण विद्यार्थीले दुःख पाएका थिए ।’

विद्यालय सुधार अभियानअन्तर्गत गाउँपालिकाले सामुदायिक विद्यालयलाई बस सुविधा उपलब्ध गराउन लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार बस खरिद प्रक्रिया अगाडि बढिसकेको र बस नआइन्जेल कन्यादेवीलाई जीप उपलब्ध गराइएको हो ।

अध्यक्ष चुमानले भने, ‘कतिपय विद्यार्थीलाई विद्यालयसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो । त्यस्ता विद्यालयलाई बस उपलब्ध गराउँछौँ । यसले गर्दा विद्यालय आउजाउका लागि हिँड्नुपर्ने समय विद्यार्थीले अध्ययनमा लगाउन सक्छन् ।’ उनका अनुसार आँबुखैरेनी गाउँपालिकाको छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ‘गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत अगाडि बढाएको छ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस