विद्यालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्न माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विद्यालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्न माग


६ असार २०८०, बुधबार


काठमाडौँ। विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरिएको छ । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले बुधबार प्रतिनिधि सभा दोस्रो बैठकमा बोल्दै सरकारसँग यस्तो माग गरेका हुन् । 

युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘म विनम्रताका साथ शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, ती कर्मचारीहरू जसले उठाएको माग न्यायोचित छन्। ती मागहरू पूरा गर्ने तर्फ यहाँको दृढताका साथ भूमिका रहोस् । पहलकदमी रहोस् । म यो माग गर्न चाहन्छु,’ उनले भने, ‘उहाँहरूले उठाएको यो विषयमा म नेकपा एमालेको तर्फबाट, म एउटा जनप्रतिनिधि सांसदको तर्फबाट ऐक्यबद्धता जाहेर गर्दै छिटोभन्दा छिटो भएका सहमति र उठाएका मागलाई सम्बोधन गर्नका लागि आग्रह गर्न चाहन्छु।’

सर्वोच्च अदालतको फैसला र आफैँले विगतमा गरेको सम्झौता अनुसार पनि उनीहरूको माग सम्बोधन गर्ने काममा सरकारले ढिलाइ गर्न नहुने सचेतक बर्तौलाले बताए ।

उनले विद्यालय तहका कार्यालय सहयोगीले मासिक ८ हजार र लेखापालले १३ हजार ५ सय मासिक तलब पाउने गरेको उल्लेख गर्दै यस्तो तलबले कसरी उनीहरूको गुजारा चल्न सक्छ ? भनी सरकारलाई प्रश्न गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस