सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ : मुख्यसचिव अर्याल « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ : मुख्यसचिव अर्याल


६ असार २०८०, बुधबार


काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रभावकारीरूपमा दिनुपर्ने बताएका छन् ।  

निजामती कर्मचारी अस्पतालले आजदेखि सुरु गरेको नर्सिङ क्याम्पसको उद्घाटन कार्यक्रममा उनले सरकारी अस्पतालले प्रभावकारीरूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनसके सरकारी अस्पतालको प्रभावकारिता बढ्ने बताए । 

मुख्यसचिव डा.अर्यालले निजामती अस्पताललाई अनलाइन प्रणालीमा अझ प्रभावकारी बनाउँदै लगेर अस्पतालमा हुने भीडलाई कम गर्नुपर्ने धारणा राखे  । अस्पतालमा क्रिटिकल केयरमा नर्सिङ जनशक्ति उत्पादन हुनु गौरवको विषय भएको भन्दै उनले अस्पतालबाट उत्पादन भएको स्वास्थ्य जनशक्तिलाई अस्पतालमा नै  राख्नुपर्ने बताए । 

अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले अस्पतालले स्वास्थ्य सेवालाई सुदृढ बनाउँदै लगेको बताए ।  उनले अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी)सञ्चालन गर्ने स्थान थोरै भएकोले समस्या भएको बताए । 

हाल अस्पतालमा दैनिक आठ सयदेखि एक हजारसम्म बिरामी आउने गरेको जानकारी दिँदै उनले ओपिडी सेवा व्यवस्थापन हुँदा यसलाई बढाएर एक हजार पाँचसयसम्म पुर्‍याउन सकिने बताए । कार्यकारी निर्देशक डा.पौडेलले अस्पतालले शैक्षिक कार्यक्रम ल्याउँदै अध्यापनलाई प्राथमिकता दिने बताए । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निमित्त उपकुलपति डा.भूपेन्द्रकुमार बस्नेतले न्याम्सले चिकित्सक, नर्सलगायत स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गरिरहेको भन्दै उत्पादित जनशक्तिलाई नेपालमै राख्ने वातावरण हुनुपर्ने बताए । 

नेपालको स्वास्थ्य जनशक्ति विदेशिने प्रवृत्ति बढेको भन्दै उनले विदेश पलायन हुने दर बढेमा नेपालको स्वास्थ्य क्षेत्रमा समस्या हुने बताए । 

हाल निजामती अस्पतालले यही वर्षदेखि २० जना क्रिटिकल नर्सिङ जनशक्ति उत्पादन गर्नका लागि चिकित्सा शिक्षा आयोगबाट स्वीकृति पाएको हो । 

अस्पतालमा हाल एक सय ३२ शय्या सञ्चालन भइरहेको छ । अस्पतालमा चाँडै नै दुई सय ५० शय्या पुर्‍याउने लक्ष्य राखिएको छ । चीन सरकारले बनाइदिएको उक्त अस्पताल २०६५ जेठ १६ गतेदेखि सञ्चालन आएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस