पशुपतिमा सुनको जलहरी लगाउँदा सुन गायब भए कारबाही भोग्न तयार छु : सदस्यसचिव « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पशुपतिमा सुनको जलहरी लगाउँदा सुन गायब भए कारबाही भोग्न तयार छु : सदस्यसचिव


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरी लगाउँदा सुन गायब नगरेको बताएका छन् ।

सिंहदरवारमा मङ्गलवार बसेको राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै थापाले पशुपतिमा सुनको जलहरी लगाउँदा सुन गायब गरेको भए आफू जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताएका हुन् ।

थापाले यस विषयमा न्याय माग्न आत्महत्या गर्नुपर्ने हो ? भन्दै प्रश्न गरेका थिए। उनले राष्ट्र बैङ्कसँगको सम्झौता अनुसार १०३ केजी सुन ल्याएको र तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा छिटो काम गरेको समेत बताए ।

उनले १० किलो सुनका कारण आफ्नो बेइज्जत भएको भन्दै सुन जोख्दा नपुगे मृत्युदण्ड भोग्न पनि तयार रहेको बताए। यथार्थ नबुझी आफूलाई सुन चोर भनेर टिप्पणी गरेको र यस प्रकरणमा आफू निकै पीडित भएको उनको गुनासो छ ।

अदालतबाट सुनको जलहरी हाल्न हुँदैन भनेर प्रदेश सांसद नरोतम वैद्यले स्टे अर्डर ल्याएको बेला ९६ किलो ८२२ ग्राम सुन तयार भएको र १० किलो सुन जलहरीका लागि तयारी नभएको हुँदा माइनुटमा मात्रै नलेखिएको र उक्त १० किलो पशुपतिनाथ मन्दिरमा नै रहेको उनको दाबी छ ।

उनले भने, ‘पशुपतिमा सुनको जलहरी लगाउँदा २४ घण्टा नेपाली सेना तैनाथी गरिएको थियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस