बचतकर्ताको रकम सुरक्षा गर्ने जिम्मा बैंकको हो : उप्रेती « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बचतकर्ताको रकम सुरक्षा गर्ने जिम्मा बैंकको हो : उप्रेती


१४ जेष्ठ २०८०, आइतबार


एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताको करिब डेढ करोड रुपैयाँ चोरी भएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ३३ जना बचतकर्ताको खाताबाट एक करोड ५० लाख २३ हजार चार सय ३४ रुपैयाँ चोरी भएको हो । बैंकको जाहेरीपछि चोरीका मुख्य नाइके मानिएका बैङ्ककै अपरेसन इन्चार्ज निरज प्रधानलगायत शाखा प्रबन्धकसहित सात जना बैंकका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । कनेक्ट आइपीएसको पासवर्ड चोरेर तथा नक्कली चेकमार्फत रकम झिक्ने प्रधानले १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ औँ पटक पैसा झिकेको पत्ता लागेको छ । सो अवधिमा उनले चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालेको प्रहरीको भनाई छ । 

करिब ३ वर्ष इटहरी शाखामा काम गरेका प्रधान गत मार्च १२ तारेखमा गाईघाट सरुवा भएपछि पनि इटहरीको खाताबाट रकम चोर्दै आएको र शङ्का लागेर अनुसन्धान गर्दा रकम चोरेको भेटिएपछि बैंकले आवश्यक कारवाहीका लागि प्रहरीमा जाहेरी दिएको थियो । त्यसको करिब दुई महिनापछि बैंकका थप आधा दर्जन कर्मचारीहरूलाई पनि पक्राउ गरेर अनुसन्धान भइरहेको छ । यसै सन्दर्भमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीसँग प्रशासनले गरिएको कुराकानी । 

एभरेष्ट बैंकको इटहरी शाखामा रहेका ग्राहकहरूको खाताबाट रकम चोरी भएको घटना बाहिर आएको छ, कसरी यस्तो भयो ? 

यहाँले भनेजस्तै एभरेष्ट बैंकमा रहेका ग्राहकहरूको खाताबाट रकम चोरी गरेर अरु कसैको खातामा गएको कुरा सत्य हो । चैतको तेस्रो सातातिर केही कारोबारहरू शङ्कास्पद देखिएपछि आन्तरिक टिमले अनुसन्धान शुरु गरेको थियो । केही दिनपछि करिब सात लाख बराबरको रकम झिकेको फेला परेपछि रकम निकाल्ने कर्मचारी पत्ता लगाएर चैत्र २२ गते बैंकले ती कर्मचारी निरज प्रधान विरुद्ध प्रहरीमा जाहेरी दिएर पक्राउ गर्न लगाएको हो ।  

बैंकले चोरीमा संलग्न कर्मचारी प्रहरीमा बुझाई सकेको करिब दुई महिना पछि शाखाका प्रबन्धकसहित थप कर्मचारीलाई पक्राउ गरेको छ, अन्य कर्मचारीको पनि संलग्नताबारे बैंकको भनाई के छ ? 

अहिलेसम्मको हाम्रो आफ्नो अनुसन्धानबाट एक जना व्यक्तिले नै यो सबै गरेको भेटिएको छ । उसले ३३ वटा ग्राहकहरूको खाताबाट पैसा निकालेको देखिएको छ । यसरी निकालेर पठाएको पैसा कुन कुन खातामा पठाएको छ भन्ने पनि स्पष्ट छ । आफ्ना घरपरिवारका मान्छेहरूको खाताबाट पैसा निकाल्न शुरु गरेका ती कर्मचारीले आफ्ना नातेदार हुँदै धेरै समयदेखि निष्क्रिय रहेका खाताहरूलाई निशाना गरेर पैसा निकालेको देखिएको छ । यसरी निकालिएको पैसा आफ्ना बाहिरका केही साथीहरूको विभिन्न खातामा रकमान्तर समेत गरिएको देखिएकाले सो सम्बन्धी जाहेरी प्रहरीमा दिएका छौँ । 

गत शुक्रवार बैंकका अन्य कर्मचारीहरूलाई पनि सोधपुछका लागि भन्दै २ बजे प्रहरी बैंकमा आएर बैंक बन्द भएपछि सो शाखाका शाखा प्रबन्धक सहित अरु कर्मचारीहरूलाई समेत लिएर गए । प्रहरी कार्यालय पुगेपछि हामीले त पक्राउ पुर्जी नै लिएर गएका थियौँ, छोड्न मिल्दैन भनेर त्यहीँ राखे । ठिक छ, पर्सि बैंक खोल्नु पर्छ, मिल्छ भने सोधपुछ गरेर दुई-चार जनालाई छोडिदिनुस् भन्दा पक्राउ पुर्जी नै भएकोले छोड्न मिल्दैन भने । त्यतिसम्म पनि ठिकै थियो । तर त्यसको भोलिपल्ट रकम चोरेको प्रमाणित भई सकेको व्यक्तिलाई हाईलाइट नगरी शाखा प्रमुखलगायत अन्य कर्मचारीलाई त्यही दिन पत्ता लगाएर समातेको जस्तो गरेर फोटो रिलिज गरियो । कि त दोषी प्रमाणित भएपछि निकालेको भए हुन्थ्यो । २८ वर्षदेखि सञ्चालनमा आएको बैंकको साखलाई ध्यान नदिई स्टन्टबाजि गर्न खोजेको जस्तो देखियो । जबकि रकम चोर्ने कर्मचारीलाई बैंक आफैले जाहेरी दिएर पक्राउ गराएको थियो । शुरुदेखि नै अनुसन्धानमा प्रहरीलाई सघाउँदै आउँदा पनि बैङ्ककै मिलेमतोमा ग्राहकका रकम निकालेको हो कि भन्ने जसरी खबर प्रवाहित गरियो त्यसमा बैंकको चित्त दुखाई हो । 

बैंकका कर्मचारीले धेरै व्यक्तिहरूको खाताबाट पटक पटक पैसा निकालेको देखियो, ग्राहकको खाताबाट अर्कै व्यक्तिले पैसा झिकेको तत्काल पत्ता लगाउने कुनै प्रणाली बैंकसँग हुँदैन ? 

चेकिङ मेकानिज्म नभएको होइन, छ । एउटा युजरले जुन ट्रान्जेक्सन गर्छ, त्यसपछि उसले आफूले पहिला चेक गर्छ र साँझ इन्ड अफ दि डे मा सिनियर्स अफिसर्सले जाँच गर्छ । जसमा रकम तलमाथि भएको या चेक भन्दा घटी बढी भएको कुरालाई भेरिफाई गरिन्छ । पुनः भोलिपल्ट बिहान मर्निङ चेक पनि हुन्छ । तर यो केशमा भने शाखा अपरेसन इन्चार्जसमेत रहेका निरज प्रधानले निकै चलाखी गरेको देखिन्छ । 

अपरेसन इन्चार्ज नै भएपछि नयाँ आउने स्टाफहरूलाई सिकाउने क्रममा टेलरमा जानदेखि सबै ठाउँमा सहज पहुँच हुने नै भयो । सिनियर हाकिम नै भएको फाइदा उठाउँदै प्रधानले चेकहरू जारी गर्ने ग्राहक सर्भिसको मान्छे अन्यत्र जाँदा उठेर त्यहाँ जाने आफूलाई खाताबाट पैसा निकाल्नु पर्ने व्यक्तिको चेक इस्यु गरिदिने र त्यही चेक आफ्नो युजरले प्रमाणित गरिदिने गरेकोमा सोही चेक अर्को दिन टेलरमा नगद भुक्तानीको लागि आए पश्चात् टेलरले उक्त चेक पेमेन्ट ग¥यो । 

अनलाइन कारोबारबाट हुने कनेक्ट आइपीएसमा चेकर र मेकर दुईवटा युजर हुन्छ त्यसमध्ये एउटा त आफैसँग हुने भयो, अर्को युजरको पासवर्डसमेत पत्ता लगाएर दुवै युजरबाट आफै ट्रान्जेक्स गरेर पैसा ट्रान्सफर गरेको देखियो । 

यहाँकै अनुसार पनि यो घटनामा पासवर्ड मिसयुज भएको देखिन्छ, त्यसलाई सुरक्षित गर्न सकेको भए एकले अर्को कर्मचारीको काम पनि आफै तमाम गर्न नसकिने रहेछ नि, हैन ? 

अहिले देखिएको पनि त्यही हो । आन्तरिक अनुसन्धान गर्दा जुन प्रक्रियागत त्रुटिहरू देखिए, जस्तो: अपरेसन इन्चार्जले टेलर भित्र जाने पाउनेदेखि अनलाइन प्रणालीमा पासवर्डहरू, मोबाइल तथा कम्प्युटर मै सेभ गरेर छोड्ने गरेका कारण पनि खराब आचरण भएका कर्मचारीहरूले दुरुपयोग गर्न सक्ने जोखिम भयो । आफ्नो कुर्सीबाट केही समयको लागि शौचालय जाँदासमेत लग आउट गरेर जानुपर्ने देखियो । यही घटनामा पनि प्रधानले एक जना अन्यत्र गएको मौका छोपी तुरुन्त आएर अन्य कर्मचारीको कम्प्युटर र युजरबाट प्रविष्टि गरेको देखिन्छ र पछि फेरी आफैले सो प्रविष्टिलाई पास गरेको पाइएको छ । अपरेसन इन्चार्ज भएको फाइदा उठाएको देखियो । यो घटनापछि बैंकले पासवर्ड सेभ गरेर नराख्ने र आफू जहाँ कतै निस्कँदा पनि लग आउट गरेर मात्रै जाने लगायत अन्य सुरक्षा उपायहरूबारे आन्तरिक सर्कुलर पुनः जारी नै गरिसकेको अवस्था छ । सामान्य त्रुटिले पनि ठूलो जोखिम निम्त्याएको देखिन्छ । यो घटनापछि बैंक सचेत तथा ग्राहकको खाताको सुरक्षाको लागि अझ दृढ हुनुका साथै थप चनाखो भएका छौँ ।  

घटनापछि ग्राहकहरूमा आफ्नो रकमबारे चिन्ता हुनु स्वाभाविकै हो, लाखौँ ग्राहकको अरबौँ रकमलाई सुरक्षित बनाउन तथा आगामी दिनमा पुनः दोहोरिन नदिन बैंकले तत्काल के कस्ता उपायहरू अवलम्बन गरेको छ ? 

२८ औँ वर्षदेखि सञ्चालनमा रहेको बैंकको आफ्नै एउटा साख छ । एक जना कर्मचारीको गलत नियतले सिङ्गो संस्था नै गलत हुन्छ भन्ने त हुँदैन नै, तर सावधानी चाहिँ अझ बढी अपनाउनु पर्ने पाठ सिकाएको छ । गल्ती गरेको पत्ता लाग्ने बित्तिकै कर्मचारीलाई निलम्बन गरी तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाइहालियो र जहाँसम्म ग्राहकको खातामा रहेको पैसाको कुरा छ, त्यो पनि तुरुन्त जम्मा भइसकेको अवस्था छ । यसरी दुरुपयोग भएको पैसा बैंकले आफ्नो ग्राहकको खातामा जम्मा गरिदिई सो को जानकारी नेपाल राष्ट्र बैंकलाईसमेत अवगत गराएको छ । 

बचतकर्ताले आफूले राखेको पैसा आफ्नो इच्छा विपरीत कसैलाई नदिई बैंकबाट हराउने कुरा हुँदैन, त्यसमा बैंक शतप्रतिशत जिम्मेवार हुन्छ । अन्त्यमा, सम्पूर्ण ग्राहक महानुभावहरूको यस बैंकमा रहेको पैसा र अन्य विवरण सुरक्षित रहन्छ भन्ने कुरा विश्वस्त समेत गराउन चहान्छौं ।  

Tags :
प्रतिक्रिया दिनुहोस