उदयपुरबाट नौ हजार युवा रोजगारीका लागि विदेसिए « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

उदयपुरबाट नौ हजार युवा रोजगारीका लागि विदेसिए


३ जेष्ठ २०८०, बुधबार


उदयपुर । उदयपुरबाट एक वर्षभित्र नौ हजार युवा रोजगारीका लागि बिदेसिएका छन् ।

जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या नौ हजारको हाराहारीमा पुगेको छ ।

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा सीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामी उदयपुरले जनाएको छ । जिल्लाको आठ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी नगरपालिकाबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । गाउँपालिकामध्ये लिम्चुङबुङ, रौतामाई र उदयपुर गढी गाउँपालिकाबाट धेरै युवा बिदेसिएका छन् ।

सामी उदयपुरका संयोजक बिजनाकुमारी बस्नेतका अनुसार जिल्लाबाट मलेसिया जाने युवाको सङ्ख्या सबै धन्दा धेरै छ । मलेसियापछि साउदी अरब, युएई, कतार र कुवेतमा युवा जाने गरेका उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार २०७९ सालमा मात्रै जिल्लाबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या आठ हजार आठ सय ६८ छन् ।

‘विगतका वर्षमा सीप तथा तालिम नलिई युवाहरू वैदेशिक रोजगारीमा जाने गरेकाले उनीहरूले विदेशमा धेरै समस्या झेल्नु परेको थियो’, सामीका संयोजक बस्नेतले भने ।

अहिले स्थानीय पालिकाको समन्वयमा वैदेशिक रोजगारीमा जान चाहनेलाई कामसम्बन्धी विभिन्न सीप र तालिम दिनुका साथै काम सिकेर जान प्रेरणा, सल्लाह, सुझाव दिन थालेपछि वैदेशिक रोजगारीमा जाँदा समस्या कम आउन थालेको उनले बताए ।

यसअघि रोजगारीका लागि जाने युवाले सीपको अभावका कारण कम तलब पाउने, अपहेलित हुनुपर्ने र कम्पनी छाडेर भाग्नुपर्ने जस्ता समस्या झोल्ने गरेका बस्नेतको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस