तनहुँका कृषकलाई माछाका भुरा वितरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तनहुँका कृषकलाई माछाका भुरा वितरण


२ जेष्ठ २०८०, मंगलबार


दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाका भुरा वितरण गरेको छ । व्यावसायिकरूपमा माछा पालन गरिरहेका कृषकलाई गाउँपालिकाले माछाका भुरा वितरण गरेको हो ।

सात वटै वडाका कृषकलाई ६० हजार माछाका भुरा वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा.विनय शाहले जानकारी दिए । माछा पालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न र माछा पालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा माछा भुरा वितरण गरेको उनले बताए ।

उनले भने, ‘विगत लामो समयदेखि माछा पालन व्यवसायमा आबद्ध कृषकसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियौँ । निवेदन प्राप्त भएका २२ कृषकलाई भुरा वितरण गरिएको छ ।’ उनका अनुसार प्रतिरोपनी सात सयका दरले माछाका भुरा वितरण गरिएको छ ।

कृषकलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्पको माछाका भुरा वितरण गरिएको छ । ‘म्याग्दे गाउँपालिकाको हावापानीसँग मिल्ने प्रजातिको भुरा बाँडेका हौँ, यो माछा एक वर्षमा दुई किलोसम्म हुन्छ’, उनले भने । गाउँपालिकाले नेपाल सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रतिभुरा ५० पैसामा खरिद गरेको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले माछा पालक कृषकलाई प्रोत्साहन गर्न अनुदानमा भुरा वितरणको कार्यक्रम ल्याइएको बताए । ‘गाउँपालिकाले व्यावसायिकरूपमा काम गरिरहेका सबै कृषकलाई अनुदानको नीति ल्याएको छ, सोहीबमोजिम माछा पालक कृषकलाई पनि शतप्रतिशत अनुदानमा भुरा वितरण गरेका हौँ’, उनले भने, ‘यसले अहिले व्यवसाय गरिरहेकालाई त प्रोत्साहन हुन्छ नै नयाँलाई आकर्षण थप्ने विश्वास लिएका छौँ ।’

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९र८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सूचनाबमोजिम माग सङ्कलन गरी पोखरीको क्षमता हेरी माछाका भुरा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले बताए ।

म्याग्दे –१ का जगतबहादुर थापालाई दुई हजार, फविसरा थापालाई दुई हजार, म्याग्दे–२ का प्रेमलता शाहीलाई सात सय, म्याग्दे–३ का विजु आलेलाई तीन हजार पाँच सय, सनिमाया थापालाई दुई हजार, म्याग्दे–४ का ओमबहादुर आलेलाई एक हजार पाँच सय, देविका थापालाई एक हजार पाँच सय, सोमकुमार श्रेष्ठलाई १५ हजार, टोपप्रसाद थापालाई एक हजार पाँच सय, भीमकुमारी रानालाई एक हजार पाँच सय, हिमनारायण कायस्थलाई चार हजार माछाका भुरा वितरण गरिएको छ ।

त्यस्तै म्याग्दे–५ का कृष्ण थापालाई छ हजार पाँच सय, तालबहादुर आलेलाई चार हजार, भक्तबहादुर गुरुङलाई चार हजार, म्याग्दे –६ का मदीमाया रानालाई चार हजार, म्याग्दे–७ का ओमराज गोतामेलाई एक हजार पाँच सय, देवबहादुर विश्वकर्मालाई सात सय, अच्युतराज काफ्लेलाई सात सय, ध्रुव वाग्लेलाई एक हजार एक सय, दुर्गामाया घर्तीलाई एक हजार एक सय भुरा वितरण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस