कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न गर्ने तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न गर्ने तयारी


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने तयारी गरिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना सबस्टेसनबाट सुरु भई पर्वत–बागलुङ–स्याङ्जा–पाल्पा–रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको एक सय २७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ।

पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। पहिले खण्डमा नै खुर्कोटमा २२०–१३२ केभी र दानामा २२०–१३२–३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन्।

दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ। यस खण्डको निर्माण आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। यस खण्डमा पर्ने दुई सय ३५ वटा टावरहरूमध्ये पर्वतमा तीनवटा, पाल्पामा एउटा, रुपन्देहीमा पाँचवटा निर्माणाधीन छन्। निर्माण सम्पन्न भएका टावरहरूमा तार तानिसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

नवलपरासीको सुनवल नगरपालिका– १३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनमा पर्ने १७ वटा टावरहरू निर्माण सम्पन्न भइसकेको छ। ५.६ किलोमिटर मल्टी सर्किट लाइनमध्ये २.९ किलोमिटरमा तार तान्न बाँकी रहेको छ।

बडेरा सामुदायिक वन उपभोक्ता समितिले व्यवस्थापन गरेको वन क्षेत्रमा पर्ने लाइन तान्नका लागि एक हजार एक सय ५० रूख कटान गर्नुपर्नेछ। मन्त्रिपरिषदबाट वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रूख कटानका लागि स्वीकृति भइसकेको छ। प्राधिकरणका अनुसार वन तथा भूसंरक्षण विभागसँग सम्झौता गरी रूख कटान आदेश लिने प्रक्रियामा छ।

Tags :
प्रतिक्रिया दिनुहोस