तोसिमाको प्रश्न : ‘भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा हुन्छ ?’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तोसिमाको प्रश्न : ‘भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा हुन्छ ?’


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा हुन्छ ? भन्दै काँग्रेस नेतृ आरजु राणालाई प्रश्न गरेकी छन् ।

केही दिन अगाडि प्रतिनिधिसभाकै बैठकमा नेपाली काँग्रेसकी सांसद राणाले सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न चुनौती दिएकी थिइन् । आफूमाथि समेत प्रश्न उठेको भन्दै उनले आफूले गल्ती नगरेको र नडराउने बताएकी थिइन् ।

सांसद कार्कीले भनिन्, ‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिला द्रोही भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनुपर्‍यो, भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ? भ्रष्टाचारी मात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ । अपराध भएको छ । कारबाही हुनुपर्छ ।’

कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठुला दलहरू लागेको आरोपसमेत लगाइन् ।

मङ्गलवार प्रतिनिधिसभाको शून्य समयमा उनले नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको आरोप लगाइन् ।

सांसदहरुले संघीय संसद सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाएको उल्लेख गर्दै उनले वेबसाइट मार्फत सार्वजनिक गर्न समेत माग गरेकी छन् । सम्पत्ति कर तिरे नतिरेको विवरण पनि सार्वजनिक गर्नुपर्ने उनले माग गरेकी छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी प्रकरणको अनुसन्धान माग गर्दा महिला हिंसा भएको राणाको गुनासोतर्फ सङ्केत गर्दै डा। कार्कीले भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ भनी प्रश्न गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस