चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा


२५ बैशाख २०८०, सोमबार


तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा तीन सय ४० र चालु आवमा एक सय पाँच हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याइएको हो ।

सत्तरी हेक्टर नयाँ कमाण्ड क्षेत्र विस्तार गरी उक्त क्षेत्रफलमा सिँचाइ योजना सम्पन्नपश्चात् समुदायलाई हस्तान्तरण गरिसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए ।

चालु आवमा बेसारघारी सिँचाइ योजनाबाट ३५, पुनः स्थापना कार्यअन्तर्गत ३५, लोकादिटार सिँचाइ योजनाबाट २३ र ठूलाफाँट सिँचाइ योजनाबाट १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याइएको हो । जिल्लाको कूल एक लाख ५४ हजार छ सय हेक्टर क्षेत्रफल रहेकामा अझै ३७ हजार पाँच सय ५१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गर्न बाँकी रहेको उनले बताए ।

जिल्लामा कार्यान्वयनमा रहेका महत्त्वपूर्ण योजना नौ रहेका छन् । त्यसमा छ योजनाको कार्य सम्पन्न भइसकेको, दुई निर्माण प्रक्रियामा रहेका र एक योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

उनका अनुसार तीन करोड ८१ लाखको लागतमा भीमाद-१ र घिरिड-२ स्थित डुम्रे बेँसी सिँचाइ योजना, एक करोड ८९ लाखमा शुक्लागण्डकी-९ को माले बगरस्थित पहाड खोला घाट र बस्ती संरक्षण, एक करोड १८ लाखमा भीमाद-५ को बुडुवा फाँट माले बगर सिँचाइ योजना सम्पन्न गरिएको छ ।

त्यसै गरी एक करोड २९ लाखमा शुक्लागण्डकी-१० स्थित लोकदीटार सिँचाइ योजना, एक करोड २१ लाखको लागतमा देवघाट-१ स्थित बेसारघारी सिँचाइ योजना र ७९ लाख ४८ हजारको लागतमा भीमाद-७ को सिस्नेरी ठूलाफाँट योजना सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी जगन्नाथ चापागाईँले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस