नक्कली शरणार्थी प्रकरण संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्छ : महरा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नक्कली शरणार्थी प्रकरण संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्छ : महरा


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्ने बताएका छन् ।

आज काठमाडौँस्थित संवाद डबलीले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नक्कली शरणार्थी बनाउने जस्तो गम्भीर अपराधमा संलग्न कसैलाई पनि सरकारले छाड्नुहुँदैन, यो गम्भीर अपराध हो, गठबन्धनभित्र र बाहिर जोसुकैलाई पनि कारबाही हुन्छ ।’ उनले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानुनको दायरामा ल्याउन, मिटरब्याज पीडितलाई न्याय दिने कुरामा सरकार अडिग रहेको बताए ।

इतिहासमै पहिलो पटक शैक्षिक सत्र सुरु हुनु पहिले नै पाठ्यपुस्तक विद्यालयमा पुर्याउनसहितका कार्यले सरकारसँग जनताको आशा बढेको पनि उनले बताए ।

राजनीतिक प्रसङ्ग जोड्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारसँग स्पष्ट बहुमत रहेको पनि बताए । सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आए पनि स्पष्ट बहुमत पुग्ने उनको भनाइ थियो ।

माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष महराले सरकार जनतासँग गरेको प्रतिबद्धता अनुरूप अघि बढिरहेको दाबी गरे । माओवादी केन्द्रसहित छ वटा पार्टीबीच समाजवादी मोर्चा बनाउने भन्ने विषयमा छलफल जारी रहेको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस