काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिएका छन् । 

हुलाकी राजमार्गअन्तर्गत बेतौना-विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका हुन् ।

मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । उनले समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बेतौनादेखि विराटनगरसम्मको झण्डै १८ किलोमिटर सडक निर्माणका लागि सञ्चालित दुई ठेक्काको निर्माण एक महिनादेखि ठप्प छ । निर्माण रोकिएपछि इटहरी कार्यालयले निर्माण व्यवसायीलाई लिखित पत्राचार गरिसकेको छ । निर्माण सम्पन्न गर्ने गरी तत्काल काम अघि नबढाए निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका सर्तबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले जनाएको छ ।

हुलाकी राजमार्गको सो खण्डको निर्माण रोकिएको विषयमा विगतदेखि नै जनप्रतिनिधिले चासो देखाउँदै आएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस