मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीका लागि चुनौतीपूर्ण छ : चन्द्र ढकाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीका लागि चुनौतीपूर्ण छ : चन्द्र ढकाल


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरूका लागि चुनौतीपूर्ण रहेको बताएका छन् ।

बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्रमा सङ्कुचन देखिएको बताए ।

अध्यक्ष ढकालले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हुन नसके उद्योगी व्यवसायीहरूको लागि चुनौतीपूर्ण रहेको बताए । पछिल्लो समय उद्योगी व्यवसायीहरूको आत्मबल बढ्न नसकेको भन्दै उनले सरकारले व्यवसायीमैत्री मौद्रिक तथा आर्थिक नीतिहरू ल्याएर उद्योगी व्यवसायी र आम जनताको आत्मबल बढाउन आवश्यक रहेको बताए ।

सरकारले अर्थतन्त्रको वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरूको आत्मबल बढाउने काम नगरेसम्म अर्थतन्त्रमा सुधार आउन नसक्ने उनको भनाइ छ । अर्थतन्त्रमा आएका वर्तमान समस्या र चुनौती समाधान गर्न सरकार, नियमन निकाय र निजी क्षेत्र सबै हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

उनले अर्थतन्त्रमा वर्तमान समस्या र चुनौती आउनुमा निजी क्षेत्र, नियमन निकाय र सरकार पक्षको केही न केही दोष रहेको बताए । बैंकहरुले सहज रूपमा कर्जा दिँदा निजी क्षेत्रले घरजग्गा, सेयर वा सवारी साधन खरिदमा लगानी गर्नु व्यवसायीहरूको पनि दोष भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस