आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी : उपेन्द्र यादव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी : उपेन्द्र यादव


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी रहेको बताएका छन् ।

सिंहदरवारमा आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले सरकारको स्थिरता लोकतन्त्रको विकासका लागि पनि महत्त्वपूर्ण हुने उल्लेख गरे ।

‘नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व आवश्यक छ’, उनले भने, ‘अस्थिरताले कसैलाई हित गर्दैन, त्यसैले सरकारको कार्यकाल पूरा हुनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ ।’

फरक प्रसङ्गमा अध्यक्ष यादवले सरकारमा बाँकी रहेका मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गरे । उनले पार्टीबाट कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्नेबारे छिट्टै निर्णय गरिने पनि जानकारी दिए ।

‘अहिलेको अवस्थामा वृहत् राष्ट्रिय समझदारीको आधारमा सरकारको स्थायित्व र आर्थिक विकासतर्फ मुलुकलाई अघि बढाउनुपर्छ । मुलुकमा राजनीतिक अस्थिरता रहिरह्यो, सरकार चाँडो-डाडो (दुई महिना–छ महिनामा फेरिनु) बद्लिरह्यो भने देशको विकास र प्रणाली माथि पनि असर पर्छ, त्यसले जनतालाई फाइदा पुग्दैन’, अध्यक्ष यादवले भने ।
संसदीय प्रक्रियामा संसदीय समितिको महत्त्वपूर्ण भूमिका रहने भएकाले समितिमा पार्टीको तर्फबाट सक्रिय भूमिका रहने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस