सामान्य प्रशासन मन्त्री मोदीद्वारा सचिवालयका कर्मचारी हेरफेर, प्रशासन प्रमुख पनि फेरिए  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सामान्य प्रशासन मन्त्री मोदीद्वारा सचिवालयका कर्मचारी हेरफेर, प्रशासन प्रमुख पनि फेरिए 


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सचिवालयका कर्मचारी फेरेका छन् । कर्मचारी सरुवामा अनावश्यक चलखेल र आर्थिक लेनदेन गरेका व्यापक गुनासो पछि मन्त्री मोदीले दुई जना निजी सचिवालयका कर्मचारीसहित प्रशासन महाशाखा प्रमुखको पनि सरुवा गरेका हुन् । 

मन्त्रीको सचिवालय स्रोतले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई दिएको जानकारी अनुसार निजी सचिवालयका अधिकृत सातौँ(सिअहेव) नागमणि पटेल र नायव सुब्बा विष्णु लामिछानेलाई हटाएका हुन् । यससँगै अहिले मन्त्रीको स्वकीय उपसचिव सुमन कालिकोटे र स्वकीय अधिकृत साजिम अन्सारी मात्रै रहेका छन् र निजीतर्फ उपसचिव ज्ञाननाथ ढकाल छन् ।  

यस्तै प्रशासन महाशाखा प्रमुख कमल राज भट्टराईको पनि सरुवा गर्दै उनको ठाउँमा योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख हेमराज तामाङलाई ल्याइएको छ । 

‘थेग्नै नसक्ने गुनासो पछि मन्त्रीज्यूले चेन्ज गर्नु भएको हो’ सचिवालयका एक अधिकारीले भने । यसपछि कस्तो ल्याइन्छ र तीनले कसरी काम गर्छन् त्यो भने हेर्न बाँकी रहेको ती अधिकारीको भनाई छ । 

त्यसो त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय निकै अपजसिलो मन्त्रालय हो, त्यसैमाथि ‘खेतीपाती’ चलाउँदा एक कान दुई कान मैदान हुँदै सिङ्गो कर्मचारी वृत्त सरुवा र उठ्तीपूर्ति आतङ्कले बदनामित बन्न पुगेको छ । 

पछिल्लो समय सचिवालयका नामबाट प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवामा व्यापक पैसा उठाएको गुनासो रहेको थियो । सरुवा हुन मात्रै होइन, यथास्थानमा रहनसमेत त्यसको पचास प्रतिशत बुझाउनु पर्ने उर्दीबाट कर्मचारीमा आतङ्क फैलिएको थियो । तर मन्त्री मोदीले भने पैसा खाएको भेटाए तत्काल कारबाही गर्ने बताउँदै आएका थिए । 

‘नेपालमा कर्मचारीको सरुवा के कसरी हुने गर्छ, त्यो त तपाईँलाई पनि थाहा भएकै कुरा हो’, एक कर्मचारीले भने, ‘तर खुलेआम पैसा उठाएको कुरा व्यापक रूपमा आएपछि सुधार गर्ने हिसाबले नै मन्त्रीज्यूले एक्सन लिएका हुन् ।’ 

नागरिकलाई सेवा प्रदान गर्ने र सरकारको प्रतिनिधिका रूपमा घरआगँनमा उपस्थिति जनाउने कर्मचारी नै भएकोले पहिलो खुड्किलाका रूपमा रहेको पदस्थापन अर्थात् व्यवस्थापन(सरुवा) गर्दा न्याय दिन सक्नुपर्छ । आफ्ना, आफन्त तथा विचारधारा भन्दा माथि उठेर क्याडर वेशमा खटाउन सके मात्रै पनि अहिलेकै अवस्थामा ५० प्रतिशत सेवा प्रवाहमा सुधार ल्याउन सक्ने देखिन्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस