सांसद कोइरीलाई पक्राउ गर्ने तयारी, प्रहरीले संसद सचिवालयमा पठायो पत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सांसद कोइरीलाई पक्राउ गर्ने तयारी, प्रहरीले संसद सचिवालयमा पठायो पत्र


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बन गर्ने तयारी गरिएको छ । प्रहरी प्रधान कार्यालयले सांसद कोइरी फरार रहेको भनी दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र लेखेको छ ।

संसद सचिवालयका अनुसार दोस्रो पटक प्रहरी प्रधान कार्यालयको पत्र सचिवालयमा पुगेको छ । यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस ७ गते कोइरी फरार रहेको भनी संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाएको थियो ।

उक्त पत्र प्रतिनिधिसभा नियमावली २०७९ बन्नु भन्दा अगाडि आएकाले नयाँ नियमावली अनुसार स्वीकार गर्न नसकिने संसद सचिवालय र सभामुख देवराज घिमिरेको भनाइ सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको हो ।

सांसदहरुले ध्यानाकर्षण गर्दा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ बनेपछि कुनै पनि सांसद फरार रहेको जानकारी औपचारिक रूपमा कुनै निकायले नगराएको बताएका थिए ।

जिल्ला अदालतले थुनछेक बहसपछि महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकामा उच्च अदालत जनकपुरधामले २०७७ मंसिर १९ गते थुनामा राख्न आदेश दिएको थियो । तर त्यसपछि महतो फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएपछि प्रहरी प्रधान कार्यालयले लक्ष्मी महतो कोइरी फरार रहेको सूचना संघीय संसद सचिवालयमा पुनः पठाएको हो ।

२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको घटनामा महतोविरुद्ध कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन छ ।

जिल्ला अदालतले थुनछेक बहसपछि महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकामा उच्च अदालत जनकपुरधामले २०७७ मंसिर १९ गते थुनामा राख्न आदेश दिएको थियो । तर त्यसपछि महतो फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पहिलो पटक संघीय संसद सचिवालयलाई लेखेको पत्रमा कोइरी फरार रहेको जानकारी मात्रै थियो । यस पटक फरार रहेको जानकारीका साथै पक्राउ गर्न सहयोगका लागि समेत संसद सचिवालयलाई आग्रह गरिएको छ ।

सभामुख देवराज घिमिरेका अनुसार प्रतिनिधिसभाको अघिल्लो अधिवेशनमा कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस