तनहुँ-१ उपनिर्वाचन : दुई उम्मेदवारले मात्रै मतदान गर्न पाउने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तनहुँ-१ उपनिर्वाचन : दुई उम्मेदवारले मात्रै मतदान गर्न पाउने


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्ने भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्ने छन् ।

अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा (एमाले)का सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार, नेशनल मङ्गोल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादी पार्टीका गणेश श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले आफ्नै लागि मतदान गर्न पाउने छैन ।

मतगणनाका लागि पनि गणनास्थलमा सिसीक्यामेरा जडान, तारबार गरिएको सहायक मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । ‘सबैलाई सहज हुने गरी मतगणनास्थलसमेत व्यवस्थित बनाएका छौँ’, उनले भने, ‘मतदान अधिकृतलाई मतपत्र र मतपेटिकालाई सुरक्षित बनाउन पनि आग्रह गरेका छौँ ।’

त्यस्तै विगतको निर्वाचनमा भन्दा म्यादी प्रहरी नहुने भएकाले सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनका लागि एक हजार तीन सय ६८ कर्मचारी खटाइएको प्रमुख ढकालले बताए । उनका अनुसार तीमध्ये सात सय ६० निर्वाचन कार्यालयबाट नियुक्ति लिएका छन् भने छ सय आठ जना स्वयंसेवक मतदान अधिकृतले नियुक्ति गरेका हुन् ।

निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताए । नेपाल प्रहरी एक हजार छ सय परिचालन गरिएको छ उनले भने ।

त्यस्तै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सशस्त्र प्रहरी चार सय ५० र नेपाली सेना पाँच सय गरी करिब दुई हजार पाँच सय सुरक्षाकर्मी खटाइएको छ । उपनिर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र नेपाली सेना रहनेछन् । तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् । तीन वटा अति संवेदनशील र २४ वटा संवेदनशील मतदानस्थल रहेका छन् ।

निर्वाचनका लागि १५ केन्द्रमा महिलालाई मतदान अधिकृत तोकिएको छ । तनहुँमा कांग्रेसका तर्फबाट भट्टराई, एमालेका खनाल, रास्वपाका वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् । भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस