स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकविहीन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकविहीन


६ बैशाख २०८०, बुधबार


कैलाली । कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलब भत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउछन् । नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ । चौधरी भन्छन्, ‘चार महिनादेखि बिना तलब काम गर्नुपरेको छ, घर खर्च कसरी चलाउने भन्ने स्थिति छ ।’

सङ्घ सरकारले दुई किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताए । पहिलो किस्तामा रु एक करोड ९२ लाख र दोस्रो किस्तामा रु ४२ लाख पठाएको थियो । चालु आवमा रु एक करोड ४२ लाख बजेट उपलब्ध भएको उनले बताए । चौधरीले भने, “स्थानीय तहले बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन ।’

तत्काल नगरपालिकाबाटै भए पनि दुई महिनाको तलब उपलब्ध गराउन स्वास्थ्यकर्मीले माग गरेका छन् । नगरपालिकाका प्रमुख केवल चौधरीले स्वास्थ्यकर्मीको समस्या नगरपालिकाले समाधान गर्न नसक्ने बताए । स्वास्थ्यकर्मीलाई तलब खुवाउने जिम्मा सङ्घीय सरकारको भएको उनको भनाइ छ ।

‘कर्मचारी सङ्घीय सरकारबाट आएका हुन् । उनीहरूको सेवा सुविधा सङ्घीय सरकारले नै बेहोर्नुपर्छ’, नगरप्रमुख चौधरीले भने, ‘हामीले नियुक्त गरेका कर्मचारीको सेवा सुविधा रोकेका छैनौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस