राष्ट्र बैंकका बोर्ड सदस्यलाई कार्यविधिविपरित सवारी सुविधा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्र बैंकका बोर्ड सदस्यलाई कार्यविधिविपरित सवारी सुविधा


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका बोर्ड सदस्यले कार्यविधिविपरित सवारी साधन खरिद गरी प्रयोग गरेको पाइएको छ । बैंकका गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशकले बैंकको सवारी साधन सुविधा व्यवस्थापन कार्यविधि २०७८ विपरीत सवारी साधन खरिद परी प्रयोग गरेको महालेखापरीक्षकको साठिऔँ वार्षिक प्रतिवेदन २०७९ मा उल्लेख छ ।

कार्यविधि अनुसार गभर्नरलाई १ करोड ४० लाख, डेपुटी गभर्नरलाई १ करोड १० लाख र कार्यकारी निर्देशकलाई ५५ लाख रुपैयाँ सम्मको सवारी साधन सुविधा दिन सकिने व्यवस्था भए पनि सो विपरीत गभर्नरले १ करोड ७८ लाख, डेपुटी गभर्नरले १ करोड ४३ लाख र कार्यकारी निर्देशकले ७१ लाख ५० हजार मूल्यको सवारी साधन खरिद गरी प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १९ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको सुविधा बोर्डले निर्धारण गरे अनुसार हुने उल्लेख गरिएको छ । तर, अन्य सुविधाबारे ऐनमा उल्लेख छैन । सोही ऐनको दफा ३२ (२) मा बोर्ड मै रहने गभर्नर, डेपुटी गभर्नर र  सञ्चालकले आफ्नै सुविधाका लागि निर्णय गर्दा स्वार्थ बाझिने कारण सम्बन्धित पदाधिकारी उपस्थित नहुने उल्लेख छ ।

यसैगरी राष्ट्र बैंकले वरिष्ठ कर्मचारीहरूको लागि पर्याप्त संख्यामा सवारी साधानहरुको उपलब्धताका बाबजुद यो वर्ष २६ वटा सवारी साधन खरिद गरेको छ । ‘बैंकका वरिष्ठ कर्मचारीहरूको लागि पर्याप्त संख्यामा सवारी साधानहरुको उपलब्धताका बाबजुद राष्ट्र बैंकले यो वर्ष १ करोड २१ लाखदेखि २ करोड ७८ लाख सम्मका ५ समेत गरी २६ सवारी साधन खरिद गरी २४ करोड ३८ लाख २५ हजार रुपैयाँ खर्च गरेको छ,’ महालेखापरीक्षकको प्रतिवेदनमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस