शान्ति सुरक्षा खर्चबापत मन्त्री र सचिवले बुझे भरपाई बेगर ३६ लाख « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शान्ति सुरक्षा खर्चबापत मन्त्री र सचिवले बुझे भरपाई बेगर ३६ लाख


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्रालयका मन्त्री र सचिवले बिल भरपाई बेगर रु. ३६ लाख बुझेका छन् । भइपरी आउने शान्ति सुरक्षा खर्चबापत यो वर्ष गृह तथा सञ्चार मन्त्रालयका मन्त्री तथा राज्यमन्त्रीले रु. ३० लाख र सचिवले रु. ६ लाख बुझेको महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन २०७९ मा उल्लेख छ । 

मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्रालयका मन्त्री र सचिवले शान्ति सुरक्षा खर्चबापत रकम बुझ्ने व्यवस्था भए पनि अन्य प्रदेशमा भने यस्तो व्यवस्था छैन । तर, मधेस प्रदेशमा शान्ति सुरक्षा खर्चबापतको रकम सम्बन्धित अधिकारीले बिल भरपाई पेस नगरीकनै बुझी खर्च गर्न सक्ने व्यवस्था गरिएको छ । 

मधेस प्रदेश (मन्त्रिपरिषद्)को २०७५/०२/१० र २०७७/१२/२४ को निर्णयमा गृह तथा सञ्चार मन्त्रालयका मन्त्री तथा सचिवलाई भइपरी आउने शान्ति सुरक्षा खर्चबापत रकम लिन सक्ने व्यवस्था गरिएको छ । शान्ति सुरक्षा खर्चबापत मन्त्रीलाई प्रति पटक रु. ३० हजारका दरले मासिक ५ पटक सम्मको रु. १ लाख ५० हजार, राज्यमन्त्रीलाई मासिक रु. १ लाख तथा सचिवलाई एक पटक रु. १० हजारका दरले मासिक ५ पटकसम्म रु. ५० हजार प्रतिमहिना गरी मासिक रु. ३ लाखका दरले नबढ्ने गरी खर्च गर्न पाउने र यस्तो रकम सम्बन्धित अधिकारीले बुझिलिई खर्च गर्न सक्ने तथा बिल भरपाई पेस गर्नु नपर्ने निर्णयमा उल्लेख छ ।

महालेखापरीक्षकको प्रतिवेदनमा भनिएको छ , ‘अन्य प्रदेशमा यस्तो खर्च गरेको नपाइएको हुँदा यसलाई औचित्यपूर्ण मान्न सकिएन ।’

Tags :
प्रतिक्रिया दिनुहोस