काभ्रेपलाञ्चोकका होटलमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काभ्रेपलाञ्चोकका होटलमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरिने


२ बैशाख २०८०, शनिबार


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलका होटलमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।

जिल्लास्थित कोभिड-१९ अनुगमन समिति तथा महामारी नियन्त्रण, व्यवस्थापन एवं रोकथाम समितिले पछिल्लो सातादेखि काभ्रेपलाञ्चोकमा कोरोना, डेङ्गु, रेबिज, झाडापखालालगायत रोग नियन्त्रणका लागि धुलिखेलका होटेल व्यवसायीसँग छलफल गरी अभिमुखीकरण कार्यक्रम गर्ने योजना बनाएको हो ।

यसका लागि यहाँका होटेल क्षेत्रलाई स्वास्थ्य सङ्कटमुक्त बनाउन आवश्यक ठानिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले बताए । सो अभियानअन्तर्गत पहिलो चरणमा होटलमा कार्यरत व्यक्तिलाई स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गराइने छ ।

‘धुलिखेलका होटेलले एउटा सुपरभाइजर तोक्नुपर्ने छ । उसले होटलमा आउने पर्यटक तथा पाहुनालाई स्वास्थ्य सङ्कट तथा महामारीबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्डसहित उपायका बारेमा सचेत गराउनेछन्’, सेढाईँले भने । तोकिएका सुपरभाइजरलाई तालिम प्रदान गरिनेछ ।

धुलिखेलमा साना–ठुला गरी ४९ होटेल छन् । ती होटलमा हालसम्म रु आठ अर्ब २२ करोड ५३ लाख लगानी भएको बताइएको छ । काठमाडौँबाट झण्डै ३० किलोमिटरको दूरीमा अवस्थित सदरमुकाम धुलिखेलका होटलमा करिब एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

धुलिखेलका होटलमा कार्यरत जनशक्तिका लागि वार्षिक १८ करोड ४५ लाख खर्च हुने गरेको क्षेत्रीय होटेल व्यवसायी सङ्घ (हान)ले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जिल्लाका सबै क्षेत्र स्वास्थ्यका हिसाबले सुरक्षित छन् भन्ने सन्देश दिन जिल्ला र स्थानीय तह स्तरमा पनि कोभिड अनुगमन समिति तथा महामारी नियन्त्रण, व्यवस्थापन एवं रोकथाम समिति गठन गरिएको बताए ।

क्षेत्रीय होटेल व्यवसायी सङ्घका अध्यक्ष प्रेमकृष्ण श्रेष्ठ हरेक होटेलले स्वास्थ्य मापदण्ड पूरा गर्न सुपरभाइजर तथा स्वास्थ्यकर्मी राख्ने बताए ।

काभ्रेपलाञ्चोकमा कोभिड-१९ बाट हालसम्म १८ हजार एक सय ९६ जना सङ्क्रमित भएकामा एक सय ९६ जनाले ज्यान गुमाएको तथ्याङ्क छ । पछिल्लो समय कोरोनाबाट ३३ जना सङ्क्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस