सिन्धुलीमा भारतीय कार दुर्घटना, ४ जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सिन्धुलीमा भारतीय कार दुर्घटना, ४ जनाको मृत्यु


२९ चैत्र २०७९, बुधबार


सिन्धुली । मंगलबार राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२:३० बजे भारतीय नम्बर प्लेटको बीआर०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । कारमा पाँच जना सवार थिए । मृतक चारै जना पुरुष रहेका छन् । मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए।

राजमार्गको भिर भएको स्थानमा कार सडकबाट ५ सय मिटर तल खसेको थियो । भिरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन । ‘त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ’, उनले भने । शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले बताए । कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस