‘राजधानी दाङ सारेको सम्झेर कति पिरोलिने ?’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘राजधानी दाङ सारेको सम्झेर कति पिरोलिने ?’


२४ चैत्र २०७९, शुक्रबार


बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ तोकिएको विषय सम्झेर सधैँ पिरोलिन नहुने बताएका छन् ।

होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको ११औँ अधिवेशनको उद्घाटन गर्दै पौडेलले आफूले बुटवलमा स्थायी राजधानी बनाउन सकेसम्म प्रयास गरे पनि प्रदेश सभाले दाङ निर्णय गरेकाले अब राजधानीको विषय कोट्याएर समय खेर नफाल्न आग्रह गरे ।

स्थायी राजधानी दाङ भए पनि पूर्वाधार र विकासमा बुटवललाई उछिन्न नसक्ने दाबी गर्दै पौडेलले व्यावसायीहरुलाई निराश नहुन आग्रह गरे ।

उनले भने, ‘अब राजधानी राजधानी राजधानी भन्न छाडिदिनुस् । सकेसम्म प्रयास गरेको हो तर प्रदेश सभाले निर्णय गरेपछि त्यही कुरा सम्झेर कति दिन पिरोलिने , राजधानी जाँदैमा सबै सकियो भन्ने लघुताभास पाल्न हुँदैन ।’ पौडेलले बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र सञ्चालनका लागि उपयुक्त कार्यविधिबारे आफूले सुझाव दिएको र छिटो सञ्चालनमा आउने आशा व्यक्त गरे ।

अमेरिकाको न्यूयोर्क, भारतको मुम्बई र युएईको दुबईको उदाहरण दिँदै पौडेलले प्रशासनिक राजधानी नहुँदैमा आकाश नखस्ने र धर्ती नफाट्ने तर्क गरे । सङ्घीयता कार्यान्वयनमा आउनुअघि नै बुटवल र रुपन्देही पूर्वाधार विकासका दृष्टिले आर्थिक केन्द्रको रूपमा स्थापित भइसकेको तथ्यलाई नबिर्सेर अब रुपन्देहीलाई थप समृद्ध बनाउने विषयमा बहस गर्न पौडेलले व्यवसायीलाई आग्रह गरे ।

नागरिक उड्डयन प्राधिकरणको हेलचेक्र्याइँ र लापरबाहीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पर्याप्त मात्रामा हुन नसकेको भन्दै पौडेलले व्यवसायीले गरेको दबाबमूलक आन्दोलनमा ऐक्यबद्धता जनाए ।

पौडेलले बुटवलमा सञ्चालनमा आउन लागेका २ वटा केबलकार, बुटवल कालिकापथको रात्रिकालीन व्यवसायले बुटवलको पर्यटनमा ठूलो टेवा पुग्ने औँल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस