सिन्धुपाल्चोकको लार्केका बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सिन्धुपाल्चोकको लार्केका बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने


२४ चैत्र २०७९, शुक्रबार


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरूको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ ।

पाँच पोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पुर्‍याएको थियो । बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । बाढीबाट एक सय ७९ परिवार प्रभावित भएका थिए ।

‘यीमध्ये १३ परिवारको घर पुनः निर्माण तथा बाँकीलाई पुनः स्थापना गर्नुपर्ने अवस्था छ’, उनले भने। हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ । पाँच परिवारले घर निर्माण सम्पन्न गर्दै छन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलका अनुसार बाढीबाट प्रभावितका लागि आवास निर्माण गर्न प्रति परिवार रु पाँच लाख तथा जग्गा नहुनेलाई थप रु तीन लाख दिइनेछ ।

‘यसमा गाउँपालिकाले १० र नगरपालिकाले १५ प्रतिशत साझेदारी गर्नुपर्ने छ’, उनले भने । विसं २०७८ असार १ गतेयता आएको बाढीले हेलम्बु, मेलम्ची र पाँच पोखरीमा गरी पाँच सय ५१ घर बगाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस